लहानमा एक वर्षमा ६३२ घरधुरीले आफ्नै लगानीमा बनाए शौचालय

खुला दिसामुक्त अवस्थाको पुनःस्थापनाका लागि अभियान, थप ६५४ घरधुरीमा शौचालय निर्माण हुँदै

  वास खबर सम्बाददाता  54 पटक हेरिएको
🔗
41
Shares

लहान : सिरहाको लहान नगरपालिकामा ‘एक घर, एक चर्पी’ अवधारणा सहित खुला दिसामुक्त अवस्थाको पुनःस्थापनाका लागि सञ्चालन गरिएको सरसफाइ अभियान एक वर्ष पुगेको छ। यस अवधिमा ६३२ घरधुरीले आफ्नै लगानीमा शौचालय निर्माण गरी प्रयोगमा ल्याएका छन् भने थप ६५४ घरधुरीमा शौचालय निर्माण भइरहेको छ।

लहान नगरपालिकाले विभिन्न सहयोगी संघसंस्थाको सहकार्यमा ‘घरघरको शान : स्वच्छता अभियान’ अन्तर्गत सन् २०२५ नोभेम्बर १९ देखि अभियान सञ्चालन गर्दै आएको हो। शौचालय निर्माण नभएका घरधुरीको पहिचान, समुदायको सहभागिता, स्थानीय नेतृत्व परिचालन तथा व्यवहार परिवर्तनलाई प्राथमिकता दिएर अभियान अघि बढाइएको नगरपालिकाले जनाएको छ।

अभियान अन्तर्गत प्रारम्भिक सर्वेक्षणबाट ४ हजार २०१ र पछि थप ४४२ गरी कुल ४ हजार ६४३ घरधुरी पहिचान गरिएको थियो। शौचालय निर्माणका लागि आर्थिक समस्या, जग्गाको अभाव, इच्छा शक्तिको कमी तथा व्यवहारजन्य अवरोधलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरी घरदैलो अभियान, सचेतना, पैरवी तथा समुदायसँगको संवाद सञ्चालन गरिएको थियो।

नगर प्रमुख महेशप्रसाद चौधरीले विभिन्न संघसंस्थाको सहकार्य र नगरपालिकाको नेतृत्वमा सञ्चालन गरिएको अभियानबाट एक वर्षमै उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो। उहाँले नागरिकको आफ्नै स्रोतसाधनबाट शौचालय निर्माण हुनु अभियानप्रतिको स्वामित्व र व्यवहार परिवर्तनको सकारात्मक संकेत भएको उल्लेख गर्नुभयो।

उहाँले अभियानमा सहयोग तथा सहकार्य गर्ने सबै निकायलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो। साथै विश्व शौचालय दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो।

विपन्न परिवारलाई शौचालय निर्माणमा प्रोत्साहन

आर्थिक रूपमा विपन्न तथा आफ्नै लगानीमा शौचालय निर्माण गर्न नसक्ने परिवारलाई लक्षित गरी नगरपालिकाले १ हजार ५०० घरधुरीका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। सन् २०२७ मार्चसम्म सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत खुला दिसामुक्त अवस्था पुनःस्थापना सम्बन्धी कार्यविधि अनुसार आवश्यक निर्माण सामग्रीमा १० देखि ३० प्रतिशत सम्म प्रोत्साहन उपलब्ध गराउने व्यवस्था गरिएको छ।

कार्यक्रम मार्फत शौचालय निर्माणका लागि रिङ, ढक्कन, प्यान तथा पाइप लगायत आवश्यक सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ।

अभियानलाई समुदायको नेतृत्वमा अघि बढाउन नगरका विभिन्न बस्तीमा टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ। नगरका २४ वटै वडामा वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय समिति तथा नगरस्तरीय समन्वय समिति सक्रिय छन्।

त्यसै गरी, सबै वडाबाट ५५ जना युवा च्याम्पियन तथा सामाजिक परिचालक छनोट गरी परिचालन गरिएको छ। उनीहरूले शौचालय निर्माण, नियमित प्रयोग तथा सरसफाइ सम्बन्धी व्यवहार परिवर्तनका लागि समुदायमा सहजीकरण गर्दै आएका छन्।

विश्व शौचालय दिवसमा पाँच दिनसम्म विविध कार्यक्रम

विश्व शौचालय दिवसको अवसरमा लहान नगरपालिकाले नोभेम्बर १८ देखि २२ सम्म पाँच दिन विभिन्न सचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रम अन्तर्गत विभिन्न वडामा स्वच्छता व्यवहार परिवर्तन सम्बन्धी गतिविधि, पत्रकार भेटघाट, नगरव्यापी माइकिङ तथा जनचेतनामूलक सन्देश प्रसारण गरिएको थियो। त्यसैगरी, २४ वटै वडामा सरसफाइ च्याम्पियन परिचालन, खुला दिसामुक्त अवस्था पुनःस्थापनाका लागि नागरिक हस्ताक्षर अभियान तथा स्थानीय सञ्चारमाध्यम मार्फत अभियानका उपलब्धि र असल अभ्यासको प्रचारप्रसार गरिएको थियो।

मुख्य बजार क्षेत्रमा सरसफाइ सचेतना स्टेसन स्थापना गर्नुका साथै १३ वटा माध्यमिक विद्यालयमा सरसफाइ विषयक चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। सार्वजनिक स्थलमा सरसफाइ कार्यक्रम, सडक नाटक, नगरस्तरीय चित्रकला प्रतियोगिता तथा समापन समारोह पनि सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

लहान नगरपालिकाको यो अभियान शौचालय निर्माणमा मात्र सीमित नभई महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत सबै नागरिकको स्वास्थ्य, सुरक्षा, सम्मान र मर्यादित जीवन सुनिश्चित गर्ने उद्देश्यमा केन्द्रित छ। निर्माण भएका शौचालयको नियमित प्रयोग, सरसफाइ र स्वच्छता सम्बन्धी व्यवहारलाई दिगो बनाउने विषयलाई पनि अभियानले उत्तिकै प्राथमिकता दिएको छ।

एक वर्षमा ६३२ घरधुरीले आफ्नै लगानीमा शौचालय निर्माण गर्नु सकारात्मक उपलब्धि भए पनि बाँकी घरधुरीमा शौचालयको पहुँच विस्तार, विपन्न परिवारलाई सहयोग र निर्माण भइसकेका शौचालयको नियमित प्रयोग सुनिश्चित गर्नु नगरपालिकाका लागि आगामी चुनौती हुन्।

नगरपालिकाले ‘शौचालय बनाऔँ, नियमित प्रयोग गरौँ, खुला दिसामुक्त लहानलाई दिगो बनाऔँ’ भन्ने सन्देश सहित अभियानलाई निरन्तरता दिने जनाएको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार