
सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा जापानी लगानीमा पानी प्रशोधन उद्योग स्थापना हुने भएको छ। हिमालयन एभरेष्ट वाटर प्रा.लि.मार्फत ५ अर्ब ६० करोड रुपैयाँ लगानीमा स्थापना हुन लागेको उद्योगको मंगलबार शिलान्यास गरिएको हो।
उद्योगले वार्षिक १० करोड ८० लाख लिटर पानी प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने लक्ष्य राखेको छ। उद्योग सञ्चालनमा आएपछि नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि हुनुका साथै स्थानीय रोजगारी सिर्जना र आर्थिक गतिविधिमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।
सोलुखुम्बुको पानी अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यसहित अघि बढाइएको यो परियोजनाको अवधारणा यसअघि नै सार्वजनिक भएको थियो। सन् २०२५ जनवरीमा नगरप्रमुख शेर्पाले जापान भ्रमणका क्रममा जापानी कम्पनी माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेसनसँग सोलुदुधकुण्ड नगरपालिकामा खानेपानी उद्योग स्थापना गर्ने विषयमा सहमति भएको जानकारी दिनुभएको थियो।
त्यतिबेला उहाँले जापानी लगानीमार्फत हिमालको शुद्ध र गुणस्तरीय पानी उत्पादन गरी सिंगापुर, मलेसिया, दुबई, साउदी अरेबिया र कतारलगायत देशमा निर्यात गर्ने योजना सार्वजनिक गर्नुभएको थियो। जापानमा उच्च गुणस्तरको पिउने पानी उत्पादन तथा निर्यात गर्दै आएको माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेसनसँग भएको उक्त सहमतिलाई नगरप्रमुख शेर्पाले सोलुखुम्बु मात्र नभई देशकै लागि ऐतिहासिक परियोजनाको सुरुवातका रूपमा व्याख्या गर्नुभएको थियो।
सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाका अनुसार उद्योग सञ्चालन भएपछि नगरपालिकाले वार्षिक १० करोड ८० लाख रुपैयाँ राजस्व प्राप्त गर्नेछ। यस बाहेक नेपाल सरकारले प्रचलित कानुन अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र रोयल्टी समेत प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो।
उहाँले एउटै आयोजनाबाट नगरपालिकाले वार्षिक झण्डै ११ करोड रुपैयाँ राजस्व प्राप्त गर्नु नगरको आर्थिक समृद्धि र आत्मनिर्भरताका दृष्टिले महत्त्वपूर्ण उपलब्धि हुने बताउनुभयो। यसले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्नुका साथै विकास निर्माणका लागि थप आर्थिक आधार तयार गर्ने उहाँको भनाइ छ।
उद्योगले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सञ्चालन, वातावरण संरक्षण र पानीका स्रोतहरूको दिगो व्यवस्थापनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नगरप्रमुख शेर्पाले आयोजनालाई उद्योग स्थापनामा मात्र सीमित नराखी नगरपालिकाको आर्थिक समृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भरता तर्फको महत्त्वपूर्ण प्रस्थान बिन्दुका रूपमा व्याख्या गर्नुभएको छ।
उद्योग सञ्चालनमा आएपछि स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने र नगरपालिकाको आर्थिक विकासमा नयाँ सम्भावना खुल्ने उहाँको अपेक्षा छ।


140 पटक हेरिएको 

