सुरक्षित सरसफाइका लागि विश्वव्यापी प्रतिबद्धता : बैंकक घोषणापत्रमा सात प्रमुख कार्यक्षेत्र

३ अर्ब ४० करोड मानिस अझै सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाबाट वञ्चित रहेको उल्लेख गर्दै विश्वभर सरसफाइलाई मानव अधिकार, सार्वजनिक स्वास्थ्य र समानताको विषयका रूपमा स्थापित गर्न आह्वान

  वास खबर सम्बाददाता  38 पटक हेरिएको
🔗
24
Shares

काठमाडौं : विश्वका ३ अर्ब ४० करोड मानिस अझै सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाबाट वञ्चित रहेको भन्दै विश्वभर सुरक्षित, समावेशी र दिगो सरसफाइ सेवा सुनिश्चित गर्न बैंकक घोषणापत्र जारी गरिएको छ।

थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्पन्न विश्व शौचालय सम्मेलन २०२६ (World Toilet Summit 2026) का अवसरमा ‘परिवर्तनशील विश्वमा सरसफाइ : सुरक्षित शौचालय, समान भविष्य’ भन्ने नारा सहित जारी घोषणापत्रले सरसफाइलाई मानव अधिकार, सार्वजनिक स्वास्थ्यको अनिवार्य आधार तथा मर्यादा, समानता, आर्थिक अवसर र स्वस्थ वातावरणमा गरिने लगानीका रूपमा व्याख्या गरेको छ।

घोषणापत्रमा सरकार, खानेपानी तथा सरसफाइ सेवा प्रदायक निकाय, समुदाय, नागरिक समाज, प्राज्ञिक क्षेत्र, विकास साझेदार, निजी क्षेत्र तथा नवप्रवर्तकहरूको सहभागितामा सुरक्षित सरसफाइको विश्वव्यापी लक्ष्य हासिल गर्न साझा प्रतिबद्धता व्यक्त गरिएको छ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१० मा खानेपानी तथा सरसफाइलाई मानव अधिकारका रूपमा मान्यता दिएको र सन् २०१३ मा नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रूपमा औपचारिक मान्यता दिएको प्रसङ्ग उल्लेख गर्दै घोषणापत्रले दिगो विकास लक्ष्य ६.२ हासिल गर्ने प्रगति अपेक्षाभन्दा निकै पछाडि रहेको प्रति चिन्ता व्यक्त गरेको छ।

तीव्र सहरीकरण र जलवायुजन्य चरम घटनाले सरसफाइ प्रणालीमा चुनौती थपिरहेको तथा प्रशोधन नगरिएको फोहोरले जलसुरक्षामा जोखिम निम्त्याउनुका साथै जलवायु परिवर्तनमा समेत योगदान पुर्‍याइरहेको घोषणापत्रमा उल्लेख छ। त्यसैले सरसफाइ क्षेत्रमा राजनीतिक नेतृत्व, समावेशी संस्था, निरन्तर वित्तीय लगानी र मापनयोग्य नतिजा आवश्यक रहेको निष्कर्ष घोषणापत्रले निकालेको छ।

पूर्वाधार निर्माणभन्दा भरपर्दो सेवामा जोड

घोषणापत्रले सरसफाइ क्षेत्रमा परम्परागत कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ। यसका लागि पूर्वाधार निर्माणलाई मात्र उपलब्धि मान्ने प्रवृत्तिबाट भरपर्दो सेवातर्फ, छुट्टाछुट्टै आयोजनाबाट सुदृढ प्रणालीतर्फ, सरसफाइको पहुँचको तथ्याङ्कबाट सुरक्षित रूपमा व्यवस्थापन गरिएको सेवाको नतिजातर्फ र फोहोर विसर्जनबाट स्रोतको सुरक्षित पुनःप्राप्तितर्फ अघि बढ्नुपर्ने उल्लेख गरेको छ।

सुरक्षित शौचालयले बालबालिकालाई विद्यालयमा निरन्तरता दिन, महिलालाई सामाजिक तथा आर्थिक गतिविधिमा पूर्ण सहभागिता जनाउन, सरसफाइ श्रमिकलाई सम्मानजनक वातावरणमा काम गर्न र समुदायलाई आफ्ना जलस्रोत संरक्षण गर्न सहयोग पुर्‍याउने घोषणापत्रमा उल्लेख छ।

यसका लागि घोषणापत्रले पाँचवटा प्रमुख प्रतिबद्धता अघि सारेको छ।

पहिलो, सबैलाई समेट्ने सरसफाइ योजना निर्माण गर्ने :

यसअन्तर्गत सहरव्यापी समावेशी सरसफाइ (सिटीवाइड इन्क्लुसिभ स्यानिटेसन–सीडब्लुआइएस) अवधारणा वा उपयुक्त सहरी तथा ग्रामीण दिगो सेवा प्रवाहका नमुना अवलम्बन गर्नुपर्नेछ।

ढलमा आधारित र ढलरहित अर्थात् अनसाइट सरसफाइ प्रणाली दुवैलाई समेटेर सेवा प्रवाह गर्नुपर्ने तथा सम्बन्धित संस्थाको जिम्मेवारी स्पष्ट गरी निर्माण भएका संरचना भन्दा समान, सुरक्षित र निरन्तर सेवा प्रवाहलाई उपलब्धिको आधार बनाउनुपर्ने घोषणापत्रमा उल्लेख छ।

दोस्रो, सरसफाइ सम्बन्धी निर्णय प्रक्रियामा महिलाको सहभागिता सुनिश्चित गर्ने:

विद्यालय, स्वास्थ्य संस्था, कार्यस्थल र सार्वजनिक स्थानमा लैङ्गिक उत्तरदायी तथा सबैको पहुँचयोग्य शौचालय निर्माण गर्नुपर्नेछ। यस्ता शौचालयमा गोपनीयता, पर्याप्त प्रकाश, पानी, साबुन तथा महिनावारी स्वास्थ्य र स्वच्छतासम्बन्धी सुविधा अनिवार्य हुनुपर्ने घोषणापत्रले औँल्याएको छ।

तेस्रो, सरसफाइ श्रमिकको सुरक्षा र व्यावसायिक मर्यादा सुनिश्चित गर्ने :

सरसफाइ श्रमिकलाई आवश्यक सुरक्षा उपकरण, उचित कार्यअवस्था, सामाजिक सुरक्षा र सुरक्षित यान्त्रिक प्रविधिमा पहुँच उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ। श्रमिक असुरक्षित अवस्थामा रहेर सुरक्षित सरसफाइ सेवा सम्भव नहुने घोषणापत्रको स्पष्ट धारणा छ।

चौथो, जलवायु कार्ययोजनामा सरसफाइलाई समेट्ने:

राष्ट्रिय तथा स्थानीय जलवायु योजना, अनुकूलन रणनीति, राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी) र राष्ट्रिय अनुकूलन योजना (एनएपी) लगायतका दस्तावेज तथा जलवायु वित्तका कार्यक्रमहरूमा जलवायु उत्थानशील सरसफाइलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। सरसफाइसम्बन्धी नीति, रणनीति तथा योजनामा समेत जलवायु उत्थानशीलता समावेश गर्नुपर्ने घोषणापत्रले जनाएको छ।

पाँचौँ, फोहोरबाट स्रोतको पुनःप्राप्ति गर्ने:

प्रशोधित पानी, पोषक तत्त्व, ऊर्जा तथा पुनःप्राप्त सामग्रीको सुरक्षित पुनःप्रयोगलाई प्रोत्साहन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ। यसका लागि उपयुक्त मापदण्ड, नियमित अनुगमन, बजार विकास र जनविश्वास आवश्यक हुने तथा चक्रीय अर्थतन्त्रमा आधारित समाधानले जनस्वास्थ्यको संरक्षण गर्नुका साथै स्थानीय आर्थिक अवस्थासँग मेल खानुपर्ने बताइएको छ।

सञ्चालन र मर्मत सम्भारमा पनि वित्तीय लगानी

घोषणापत्रले सरसफाइ प्रणालीलाई दिगो बनाउन पूर्वाधार निर्माणमा मात्र नभई यसको सम्पूर्ण जीवनचक्रमा वित्तीय स्रोत सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। सरकार तथा सेवा प्रदायक निकायले सञ्चालन, मर्मत सम्भार र सुरक्षित प्रशोधनका लागि पूर्वानुमान गर्न सकिने सार्वजनिक बजेट, सेवाग्राहीले धान्न सक्ने महसुल तथा जवाफदेही कार्यसम्पादन प्रणाली विकास गर्नुपर्ने उल्लेख छ।

कुनै पनि व्यक्ति वा समुदाय सरसफाइ सेवाबाट पछाडि नपरोस् भन्ने सुनिश्चित गर्दै आवश्यकता अनुसार नतिजामा आधारित वित्त, मिश्रित वित्त (ब्लेन्डेड फाइनान्स) तथा जलवायु वित्त परिचालन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ। लगानीयोग्य आयोजना र आर्थिक रूपमा सम्भाव्य स्थानीय उद्यम विकास गर्नुपर्ने तथा सार्वजनिक सहयोग र निजी क्षेत्रको लगानीले सेवाको जवाफदेहिता, किफायतीपन र निरन्तरतालाई सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।

सेवा सञ्चालन गर्ने निकायले बीचमै सेवा छाडेमा समेत सरसफाइ सेवा अवरुद्ध नहुने व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ।

सुरक्षित सरसफाइका लागि प्रभावकारी नियमन र जवाफदेही शासन

घोषणापत्रले सरसफाइ क्षेत्रमा प्रभावकारी नियमन, कार्यान्वयन गर्न सकिने मापदण्ड, उपयुक्त प्रविधि तथा सुरक्षा र समानता मापन गर्ने पारदर्शी सूचकको व्यवस्था गर्नुपर्ने जनाएको छ।

हरेक सरसफाइ प्रणालीमा नियमित सञ्चालन तथा मर्मतसम्भार, दिसाजन्य लेदो र प्रशोधित बहिःस्रावको सुरक्षित व्यवस्थापन, जवाफदेही संस्था तथा सेवा सुधार र स्वच्छ पानीमा आएको परिवर्तन देखाउने प्रमाण हुनुपर्ने उल्लेख छ।

यसका साथै सरसफाइ सम्बन्धी ज्ञान, धारणा र व्यवहारमा सुधार ल्याउनुपर्ने तथा शौचालय प्रयोग गर्ने व्यक्तिले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ। शौचालय सफाइ गर्ने श्रमिकप्रति सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने र सार्वजनिक शौचालयलाई सुरक्षित, पहुँचयोग्य, सफा तथा व्यावसायिक रूपमा नियमित मर्मत सम्भार गरिएको अवस्थामा सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

यसका लागि विश्व शौचालय सङ्गठनको ‘ह्याप्पी ट्वाइलेट कार्यक्रम’ जस्ता व्यावहारिक पहललाई प्रोत्साहन गर्न घोषणापत्रले आह्वान गरेको छ।

संयुक्त राष्ट्रसङ्घीय जल सम्मेलनमा सरसफाइका मुद्दा उठाइने

घोषणापत्रले विभिन्न क्षेत्र र भौगोलिक क्षेत्र बीच सहकार्य गरी परीक्षण भइसकेका नवीन समाधानलाई सुलभ सेवाका रूपमा विस्तार गर्नुपर्ने जनाएको छ।

यसका प्राथमिकता र प्रतिबद्धतालाई आगामी डिसेम्बर ८ देखि १० सम्म संयुक्त अरब इमिरेट्सको अबुधाबीमा आयोजना हुने सन् २०२६ को संयुक्त राष्ट्रसङ्घीय जल सम्मेलनमा उठाउन सहभागीहरूलाई आह्वान गरिएको छ।

सम्मेलन मार्फत दिगो विकास लक्ष्य ६, विशेषगरी लक्ष्य ६.२ अन्तर्गतको सरसफाइ तथा स्वच्छता सम्बन्धी कामका लागि साझेदारी, वित्तीय स्रोत र कार्यान्वयनलाई थप गति दिने अपेक्षा घोषणापत्रले गरेको छ।

त्यसैगरी, सन् २०३० पछिको विकास कार्यसूचीमा समेत सरसफाइका यी प्राथमिकतालाई समावेश गर्न साझेदारहरूलाई प्रोत्साहित गरिएको छ।

सरकार देखि विकास साझेदासम्मलाई जिम्मेवारी

घोषणापत्रले सुरक्षित र दिगो सरसफाइका लागि सरकार तथा सहरका अधिकारीलाई सरसफाइलाई प्राथमिकतामा राख्न, जिम्मेवारी स्पष्ट गर्न, आवश्यक मापदण्ड कार्यान्वयन गर्न र भरपर्दो सेवाका लागि बजेट विनियोजन गर्न आह्वान गरेको छ।

विकास बैंक, लगानीकर्ता तथा विकास साझेदारलाई समावेशी र जलवायु उत्थानशील सरसफाइ कार्यक्रमका लागि वित्तीय स्रोत परिचालन गर्न र लगानीयोग्य आयोजना विकासमा सहयोग गर्न आग्रह गरिएको छ। त्यस्तै, खानेपानी तथा सरसफाइ सेवा प्रदायक र सञ्चालकलाई सुलभ, पारदर्शी तथा जवाफदेही सेवा प्रवाह गर्दै नतिजा सार्वजनिक गर्न भनिएको छ।

अनुसन्धानकर्ता, नवप्रवर्तक तथा उद्योग क्षेत्रलाई प्रभावकारी समाधानको परीक्षण, स्थानीय आवश्यकता अनुसार अनुकूलन र विस्तार गर्न तथा शिक्षक, सञ्चारमाध्यम र समुदायलाई जिम्मेवार व्यवहार प्रवर्द्धन गर्न र सरसफाइ सम्बन्धी विषयमा विद्यमान संकोच तथा मौनता अन्त्य गर्न आह्वान गरिएको छ।

घरबाटै सुरु गर्न सकिन्छ सरसफाइ अभियान

घोषणापत्रको अन्तिम भागले सरसफाइ सुधारका लागि सरकार वा संस्थाको प्रतिबद्धता मात्र पर्याप्त नहुने भन्दै प्रत्येक व्यक्ति, परिवार, समुदाय र सहरको सक्रिय भूमिका आवश्यक रहेको सन्देश दिएको छ।

विश्व शौचालय सङ्गठनका संस्थापक ज्याक सिमको अभियान र ‘मिस्टर ट्वाइलेट’ को अवधारणालाई स्मरण गर्दै प्रत्येक देश, सहर र घरमा सरसफाइको अगुवाइ गर्ने व्यक्ति आवश्यक रहेको उल्लेख गरिएको छ। महिला तथा पुरुष दुवैले आफ्नो घर, सडक, कार्यस्थल, सहर र देशमा सरसफाइको नेतृत्व लिन सक्ने सन्देश घोषणापत्रले दिएको छ।

हरेक व्यक्तिले सरसफाइको एउटा विषयलाई आफ्नो जिम्मेवारीका रूपमा लिएर निरन्तर काम गर्नुपर्ने र यस अभियानमा कम्तीमा अर्को एक व्यक्तिलाई सहभागी गराउनुपर्ने आह्वान गरिएको छ।

घोषणापत्रले सुरक्षित शौचालय, विद्यालयमा निरन्तरता पाउन प्रतीक्षारत बालिका, सम्मानको अपेक्षा गरिरहेका सफाइ श्रमिक र स्वच्छ रूपमा बग्न प्रतीक्षारत नदीलाई सरसफाइ अभियानको मानवीय पक्षसँग जोडेको छ।

‘घोषणापत्रमा हस्ताक्षर प्रतिनिधिहरूले गर्छन्, तर यसको सफलता आम मानिसको कामबाट सुनिश्चित हुन्छ’ भन्ने भावसहित जारी बैंकक घोषणापत्रले सुरक्षित शौचालय र समान भविष्य निर्माणका लागि आजैदेखि व्यक्तिगत तथा सामूहिक पहल सुरु गर्न आह्वान गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार