
इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित ल्यान्डफिल साइट आसपासका बासिन्दा दुर्गन्ध, धुलो र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण समस्यामा परेका छन्। फोहोर बोकेर आउने गाडीले सडकमा फोहोर झार्ने, सडकमा नियमित पानी नछर्किने र ल्यान्डफिल साइटमा फोहोरको उचित व्यवस्थापन नहुँदा स्थानीयले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्।
इटहरी–१० का रोशन उरावका अनुसार फोहोर बोकेर आउने गाडीले सडकमा फोहोर झार्ने गरेका छन्। सडकमा नियमित पानी नछर्किँदा उड्ने धुलो घरभित्रै पस्ने गरेको छ भने ल्यान्डफिल साइटबाट फैलिने दुर्गन्धले बस्तीको वातावरण नै प्रदूषित बनेको छ।
‘खाना छोपेर नराख्दा झिँगा पूरै भरिन्छ’, उहाँले भन्नुभयो, ‘अर्कातिर धुलो पूरै घरमा पस्दा ससाना नानी प्रायः बिरामी परिराख्छन्।’
सडकमा नियमित पानी छर्किन पटक-पटक आग्रह गर्दा पनि उपमहानगरपालिकाले बेवास्ता गर्दै आएको उहाँको गुनासो छ। उपमहानगरपालिकामा समस्या राख्न जाँदा उल्टै वडा नै हटाइदिए हुने भन्ने जवाफ पाउने गरेको उहाँले बताउनुभयो।
ल्यान्डफिल साइट नजिकै बसोबास गर्दै आउनुभएकी सुखनीदेवी सरदारलाई पनि धुलोले उत्तिकै सास्ती दिएको छ। सडकबाट उड्ने धुलो घरभित्र पस्दा कपडासमेत फोहोर हुने गरेको उहाँले बताउनुभयो। सडकमा नियमित पानी छर्किने व्यवस्था भए आफूहरूलाई ठूलो राहत हुने उहाँको भनाइ छ।
सोही बस्तीकी सञ्जु सरदारका अनुसार गर्मीयाममा ल्यान्डफिल साइटबाट निस्कने दुर्गन्ध असह्य हुने गरेको छ। ‘दुर्गन्धले मान्छे मर्न आँटेका छन्। गन्ध बढी नै आउँछ। जाडोको बेला त ठिकै हो, गर्मीको बेला चौपट गन्ध आउने गरेको छ’, उहाँले भन्नुभयो।
ल्यान्डफिल साइट स्थापना गर्दा उपमहानगरपालिकाले प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म पूरा नगरेको उहाँको गुनासो छ।
गत वर्ष पनि स्थानीयले ल्यान्डफिल साइट व्यवस्थित गर्न माग गर्दै तीन दिनसम्म आन्दोलन गरेका थिए। तर, स्थानीय राजनीतिक दलका नेताहरू बीच सहमति भएपछि आन्दोलन रोकिएको उहाँले बताउनुभयो। ‘हामीले त चियाका भरमा भोकै बसेर आन्दोलन गर्यौं तर नेताहरू मिलेपछि आन्दोलन रोकियो’, उहाँले भन्नुभयो।
इटहरी–१० का वडाध्यक्ष अवधेश चौधरीले पनि मानव बस्ती नजिकै ल्यान्डफिल साइट राख्नु नै उपयुक्त नभएको बताउनुभयो। उहाँका अनुसार ल्यान्डफिल साइट व्यवस्थित नहुँदा स्थानीयसँगै आफू पनि प्रभावित हुनुभएको छ।
‘व्यवस्थित गर्न सकिएको छैन। सबैभन्दा बढी पीडित त मै छु। ल्यान्डफिल साइटभन्दा उत्तरतिर मेरो एक बिघा जग्गा छ। दुर्गन्धका कारण खेतमा सहजै काम गर्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो।
ग्यास र मल उत्पादन गर्ने योजना अलपत्र
फोहोर व्यवस्थापनसँगै ग्यास र जैविक मल उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको ल्यान्डफिल साइटमा सम्झौता अनुसार काम हुन नसक्दा स्थानीयले समस्या भोग्नुपरेको हो।
इटहरी उपमहानगरपालिकाले २०७५ वैशाख १४ गतेदेखि २० वर्षका लागि वेस्ट एन्ड इनभारो म्यानेजमेन्टलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको थियो। उक्त परियोजनामा कम्पनीको ६० प्रतिशत र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, खुमलटारको ४० प्रतिशत लगानी रहेको थियो।
तर, सम्झौता अनुसार ग्यास र जैविक मल उत्पादन हुन नसकेको उपमहानगरपालिकाले जनाएको छ।
इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्पनारायण चौधरीले फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनीले सम्झौताअनुसार काम गर्नुपर्ने बताउनुभयो। सुरुवाती चरणमा ग्यास उत्पादन भए पनि अहिले बन्द भएको र फोहोरबाट जैविक मल उत्पादनको काम समेत प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ।
‘कहिले यो समस्या कहिले त्यो समस्या देखाउनु भएन। सुरुवाती चरणमा ग्यास उत्पादन गरे पनि अहिले भएको छैन। फोहोरबाट मल पनि बनाउन सकिएको छैन’, उहाँले भन्नुभयो।
उहाँले अब सम्झौता अनुसार काम नगर्ने कम्पनीविरुद्ध उपमहानगरपालिका कडाइका साथ प्रस्तुत हुने बताउनुभयो।
दैनिक ४० टनसम्म फोहोर, व्यवस्थापनमा चुनौती
इटहरी उपमहानगरपालिकाका अनुसार अहिले नगर क्षेत्रबाट दैनिक ३५ देखि ४० टनसम्म फोहोर उत्पादन हुने गरेको छ। उपमहानगरपालिकाका दुईवटा वडाका केही सीमित स्थानबाहेक अन्य सबै वडाको फोहोर संकलन तथा व्यवस्थापन हुँदै आएको छ।
फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनीले करिब १५ हजार घरधुरीबाट फोहोर संकलन गर्दै आएको जनाएको छ।
इटहरी नगरपालिका हुँदा वडा नं. १, ४ र ८ बाट मात्र फोहोर संकलन गरी व्यवस्थापन गरिन्थ्यो। सुरुमा केही समय तरहराको जंगलमा फोहोर व्यवस्थापन गरिएको थियो। त्यसपछि खनारमा दुई बिघा १८ कट्ठा जग्गा पाँच वर्षका लागि भाडामा लिएर फोहोर व्यवस्थापन गरिएको थियो। उक्त सम्झौता २०७२ सालसम्मका लागि थियो।
तर, सम्झौता अवधि सकिनुभन्दा एक वर्षअघि नै स्थानीय राजनीतिक दलका नेताहरूको अगुवाइमा दुर्गन्ध फैलिएको भन्दै त्यहाँ फोहोर फाल्न रोक लगाइएको थियो। त्यसअघि झन्डै दुई वर्षसम्म इटहरी–८ मा उपमहानगरपालिकाकै स्वामित्वमा रहेको पोखरीमा फोहोर फाल्ने गरिएको थियो।
निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मा दिँदा ल्यान्डफिल साइटको व्यवस्था गर्ने सर्तसमेत राखिएको थियो। तर, उपमहानगरपालिकाले उपयुक्त स्थानको व्यवस्था गर्न नसक्दा केही वर्ष इटहरीका विभिन्न स्थानमा फोहोर फाल्नुपरेको थियो।
यता, फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनीका प्रमुख देवराज भण्डारीले ग्यास उत्पादन गर्न नसकिएपछि अहिले जैविक मल उत्पादनमा केन्द्रित भएर काम अघि बढाइएको बताउनुभयो।
‘अहिले हामीले मल उत्पादनलाई फोकस गरिरहेका छौं। अब केही थोरै समय लाग्छ। जर्मन प्रविधि प्रयोग गरिएकाले मेसिन बिग्रिएको छ। त्यसलाई बनाउन समय लाग्छ’, उहाँले भन्नुभयो।
कम्पनीले मेसिन र प्लान्टमा मात्रै साढे सात करोड रुपैयाँसहित कुल १६ करोड रुपैयाँ लगानी गरेको जनाएको छ। यति ठूलो लगानी गर्दा पनि अपेक्षाअनुसार सफलता हासिल गर्न नसकिएको भण्डारीको भनाइ छ।
फोहोरबाट ग्यास र जैविक मल उत्पादन गर्ने लक्ष्य सहित सुरु गरिएको परियोजना अपेक्षा अनुसार सञ्चालन हुन नसक्दा एकातिर लगानीको प्रतिफल प्राप्त हुन सकेको छैन भने अर्कोतिर ल्यान्डफिल साइट आसपासका बासिन्दाले दुर्गन्ध, धुलो र स्वास्थ्य जोखिमको सामना गर्नुपरेको छ।
स्थानीयको समस्या समाधानका लागि फोहोरको वैज्ञानिक व्यवस्थापन, सडकमा नियमित पानी छर्किने व्यवस्था र सम्झौता अनुसारका संरचना तथा सेवा सञ्चालन गर्नु आवश्यक देखिएको छ।


41 पटक हेरिएको 

