
रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी तथा व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ। नगरपालिकाले रुपन्देहीकै मायादेवी गाउँपालिका–७ मा रहेको वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवर्द्धन अफ नेपाल प्रालिसँग फोहोरमैला व्यवस्थापनसम्बन्धी सम्झौता गरेको हो।
सोमबार भएको सम्झौताअनुसार कम्पनीले नगर क्षेत्रको फोहोर सङ्कलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन तथा समग्र सरसफाइको जिम्मेवारी निर्वाह गर्नेछ। सम्झौताको कुल रकम तीन करोड ६० लाख दुई हजार ९७१ रुपैयाँ सात पैसा रहेको नगरपालिकाले जनाएको छ।
सम्झौता २०८३ मंसिर ७ गतेदेखि लागू भई २०८८ मंसिर ६ गतेसम्म कायम रहनेछ।
संविधानसभा सदस्य तथा नगरप्रमुख इस्तायिक अहमद खानले वर्षौंदेखि समस्याका रूपमा रहेको फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्दै सिद्धार्थनगरलाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित सहर बनाउने उद्देश्यले निजी क्षेत्रसँग सहकार्य गरिएको बताउनुभयो। फोहोर व्यवस्थापन नगरवासीको प्रत्यक्ष सरोकार र नगरपालिकाको प्रमुख प्राथमिकताको विषय भएको उहाँको भनाइ छ।
नगर स्थापनाकालदेखि नै फोहोरमैला व्यवस्थापन सिद्धार्थनगरको प्रमुख चुनौती बन्दै आएको छ। बजार तथा बस्ती क्षेत्रमा नियमित फोहोर सङ्कलन र व्यवस्थापन हुन नसक्दा सडक किनारमा फोहोर थुप्रिने, दुर्गन्ध फैलिने र सहरी सौन्दर्यमा असर पर्ने समस्या देखिँदै आएको थियो। यसले नागरिकको स्वास्थ्य, वातावरणीय स्वच्छता र पर्यटकीय सहरका रूपमा भैरहवाको पहिचानमा समेत असर पुर्याउँदै आएको थियो।
विशेषगरी फोहोर विसर्जनस्थलको अभाव र स्थानीयस्तरमा हुने अवरोधका कारण नगरपालिकालाई फोहोर व्यवस्थापन गर्न कठिनाइ हुँदै आएको थियो। यसअघि नगरपालिकाले वडा नं. १ को मेउडिहवास्थित डण्डा नदी किनारमा फोहोर विसर्जन गर्दै आएको थियो। स्थानीयवासीको अवरोधपछि सोही वडाको सिद्धार्थ राजमार्गछेउ डण्डा नदी किनारमा फोहोर विसर्जन गर्न थालिएको थियो। तर, उक्त स्थानमा समेत फोहोर नफाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि नगरपालिकाको फोहोर व्यवस्थापन थप चुनौतीपूर्ण बनेको थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीपिन क्षेत्रीले सिद्धार्थनगरलाई स्वच्छ, हराभरा, सुन्दर तथा पर्यटकीय नगरका रूपमा विकास गर्ने लक्ष्यअनुरूप फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। निजी क्षेत्रसँगको सहकार्यले फोहोर सङ्कलन, वर्गीकरण र अन्तिम व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गरिएको पहलले सार्थकता पाएको बताउनुभयो। सम्झौताअनुसार प्रभावकारी कार्यान्वयन हुन सके नगर क्षेत्रको सरसफाइमा सुधार आउने र नगरवासीले लामो समयदेखि भोग्दै आएको समस्या न्यूनीकरण हुने उहाँको भनाइ छ।
नगरपालिकाले सम्झौताको प्रभावकारी कार्यान्वयनसँगै नियमित अनुगमन र नागरिक सहभागितालाई पनि महत्त्व दिएको छ। निजी कम्पनीसँगको सहकार्यले फोहोर व्यवस्थापनको विद्यमान चुनौती समाधान गर्दै सिद्धार्थनगरलाई स्वच्छ, व्यवस्थित र पर्यटकीय सहरका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


80 पटक हेरिएको 

