कमला पोख्रेल
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नम्वर १० का प्रत्येक घरपरिवारलाई डस्टविन वितरण गरिएको छ ।
धरम्पानीमा आज एक घर एक डस्टबिन वितरण तथा टोल विकास संस्थाको ब्यबस्थापन सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा वडामा रहेका ७ सय २० घरधुरीलाई नै डस्टबिन वितरण गरिएको हो ।
स्वास्थ्य, इज्जत र प्रतिष्ठा सँग जोडिएको सरसफाइमा वडा नम्वर १० लाइ नमुना बनाउनका लागि एक घर एक डस्टबिन वितरण गरिएको वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले बताउनुभयो । उहाँले सड्ने र गल्ने फोहर मलखादमा राख्न र नसड्ने फोहर डस्टविनमा राखेर घर आँगन सफा र सुग्घर बनाउन सहभागी सबैलाइ आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्यले सरसफाइका कारणले धेरै रोगहरु लाग्ने भएकाले सरसफाइमा सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सरसफाइका सुचकहरु पुरा गरी पुर्ण सरसफाइ उन्मुख वडाको रुपमा अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य चमकला भुसाल, भेसबहादुर क्षेत्री, नेकपाका नगर सदस्य राजेन्द्र जिसि, नेपाली काग्रेसका वडा सभापति नारायण चुँदाली, टोल सुधार समितिका अध्यक्षहरु बसन्त बहादुर क्षेत्री, उत्तमसिंह ठकुरी, पवन मरासिनी लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम गीत आचार्यको अध्यक्षता, सदस्य ऋषिकेस भुसालको स्वागत र वडा सचिव अरुणकुमार आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।