जथाभावी फोहोर फाल्ने बानी छ ? सचेत रहनुहोस् आफूले फालेको फोहोरको पोका आफ्नै घरमा फिर्ता आउन सक्छ

स्याङ्जा : जथाभावी फोहोर फाल्ने बानी छ ? होसियार ! तपाईले फालेको फोहोरको पोका तपाईकै घरमा आईपुग्न सक्छ । शनिबार स्याङ्जाको वालिङ नगरपालिकामा यस्तै भयो । सुरुमा नगरपालिकाको टिपर घर अगाडि टक्क रोकियो । कर्मचारीले घरधनीलाई पोका थमाउँदै भने, ‘लौ तपाईंको सामान तपाईं नै राख्नुस् ।’ अलमलमा परेका घरधनीले अचम्म मान्दै हात थापे । खोलेर हेर्दा आफूहरुले राती सडकमा फालेको फोहोरकोे पोको देखेर कालो नीलो भए । आफूले फालेको फोहोर आफ्नै घरमा फिर्ता आएपछि केहीबेर उनीहरु बोल्न समेत सकेनन् ।

 

वालिङ नगरपालिकाले शनिबार वडा नम्बर १० फेदी मोहोरियाका बासिन्दाले जथाभावी फालेको फोहोर उनीहरूको घरमै फर्काइदिएको हो । फोहोरका पोकामा बिल तथा प्रमाण पुग्ने कागजपत्र भेटिएपछि वडाध्यक्ष अनन्तराज गैरेमार्फत मिल्काउनेका घरमा पुर्‍याइएको नगरपालिकाले जनाएको छ । फोहोरका पोका फिर्ता पाउनेमा अधिकांश व्यवसायी रहेको र उनीहरुलाई आइन्दा जथाभावी फोहोर नफाल्न सचेत गराइएको वडाध्यक्ष गैरेले बताउनुभयो ।

स्थानीय सरकार र वडा कार्यालयलाई पटक–पटक गुहार्दा पनि फोहोर फाल्ने क्रम नरोकिएपछि रातको समयमा पालो लगाएर गस्ती समेत गर्ने गरेका छन् । नगरपालिकाका कर्मचारी र टोल विकास समितिका पदाधिकारी ‘जथाभावी फोहोर फाल्न पाइँदैन, अरूलाई रोगी बनाउन पाइँदैन, फोहोर फाल्नेलाई कारबाही गर’ जस्ता नारा लगाउँदै व्यवसायीकोमा पुगेका थिए । वालिङ बजारस्थित सुपङ इम्पोरियमका सञ्चालक, दीपेश शर्मा लगायत व्यवसायीलाई सचेत गराइएको टोल विकास समितिले जनाएको छ ।

व्यापारीले भने नगरपालिकाले फोहोर व्यवस्थित रूपमा नउठाएको गुनासो गरेका छन् । ‘फोहोर उठाउने गाडी बिहान ६ बजे नै आउँछ, हामी बाहिरबाट आएर पसल खोल्नुपर्ने भएकाले केही ढिला हुन्छ,’ व्यापारी नरेश केसीले भन्नुभयो । उहाँले बिहान ८ बजे फोहोर उठाइदिन अनुरोध गर्नुभयो ।

फोहोर छुट्याएर दिनुपर्दा व्यापारीले झन्झट मानेको हुन सक्ने फोहोरमैला व्यवस्थापन समिति अध्यक्ष युगमाया पंगेनीले बताउनुभयो । उहाँले सबैले घरमा नै कुहिने र नकुहिने फोहोर छुट्याएर नगरपालिकालाई दिन आग्रह गर्नुभयो । स्मार्ट नगरको अवधारणा अघि सारेको वालिङले फोहोरलाई मोहरमा बदल्ने नीति लिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार