सिसडोलबासीद्वारा काठमाडौको फोहोर बिसर्जनमा फेरि अवरोध

नुवाकोट : टिपरको ठक्करबाट मङ्गलबार एक बालकको ज्यान गएपछि काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा नुवाकोट सिसडोलका बासिन्दाले अवरोध पु-याएका छन् ।

स्थानीय बासिन्दाको विरोधका कारण काठमाडौ उपत्यकाबाट फोहोर बोकेर आएका करीब १०० बढी कन्टेनर लगायतका सवारी सडकमा नै रोकिएका छन् ।

फोहर बोकेर विसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेबाट आउन नदिएको ककनी गाउँपालिका–२ का वडाध्यक्ष केदार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटना पश्चात काठमाडौँ महानगरपालिकासँग पीडित पक्ष र सरोकारवाला सम्मिलित छलफलमा मृतक व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति, घाइते बालकलाई निःशुल्क उपचार र कक्षा १२ सम्म अध्ययनको व्यवस्था र दोषी चालकलाई कारवाहीको माग राखिएको छ ।

काठमाडौंबाट फोहर बोकेर आइरहेको टिपरको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु भएको थियो भने १२ वर्षीय राजन नेपाली गम्भीर घाइते भएका थिए ।

“कामपाले ललितपुर महानगरपालिकामार्फत परिचालन भएको टिपर भएकाले समाधानका लागि सोही निकायबाट नै पहल गर्नुपर्ने भन्दै पन्छिएकाले समस्या समाधान तर्फ उन्मुख हुन सकेन”, पौडेलले भन्नुभयो । घटनाको विरोधमा फोहर विसर्जन गर्न अवरोध पु¥याएका स्थानीयबासिन्दाले अन्य सवारी साधन सञ्चालनमा भने रोक नलगाएकोे जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

विरोधमा उत्रिएका पीडित पक्षले आफूहरुको माग पूरा नभएसम्म शव बुझ्न अस्वीकार गर्दै आएका छन् । मृतकको शव काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा राखिएको छ भने घाइते बालक राजनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार