गोरखा : गोरखाको चुमनुब्री गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता गुरुयोजना तयार पार्न थालेको छ । युकेएड र डीएफआइडीको सहयोगमा मोट म्याक डोनाल्ड पूर्णिमा कार्यक्रमको व्यवस्थापनमा एनडीआई प्रालि (Nepal development initiative consulting pvt ltd) ले चुमनुब्री गाउँपालिकामा आज खानेपानी, सरसफाइ र स्वच्छता योजना तर्जुमा कार्यशाला सम्पन्न गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यशालामा पूर्णिमा कार्यक्रमकी विष्णु दवाडीले भूकम्प पश्चत गरिएका कार्यक्रमहरुको बारेमा जानकारी दिदै खानेपानी र सरसफाइ प्रत्येक नागरिकको मौलिक हक र अधिकार भएकाले यसको प्राप्तिका लागि स्थानीय सरकार र सहयोगी निकायहरुले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले सुरक्षित खानेपानी, एक घर एक धारा पूर्ण सरसफाइ उन्मुख अवस्थामा पुग्ने लक्ष्य तय गरी गुरुयोजना निर्माण गर्नुपर्ने बताउनुभयो ।

यस्तै एनडिआईका टिम लिडर नवराज खतिवडाले हालसम्म गरिएको तथ्यांक संकलनको आधारमा प्राप्त नतिजाहरु, खानेपानी, सरसफाइ र स्वच्छताका प्रमुख सवालहरु, खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन, गणकहरु परिचालन लगायत विषयमा प्रस्तुतीकरण एवं छलफल गर्नुभएको थियो ।

कार्यक्रमको खुला सत्रमा सहभागीहरुले भएका खानेपानीको गुणस्तर निरीक्षण सम्बन्धमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका सागै आयोजनाको सार्वजनिक सुनुवाई गरी उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुपर्ने बताएका थिए ।
यस्तै गाउँपालिकाकी उपाध्यक्ष एवं कार्यशालाका अध्यक्ष कुमारी गुरुङले चुमनुब्री गाउँपालिकामा पूर्णिमा कार्यक्रमबाट महत्वपूर्ण सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्दै विकासका पूर्वाधार गुणस्तरीय बनाउन अनुगमनको पाटो दरिलो हुनुपर्ने भएपनि भौगोलिक विकटताका कारण अनुगमन निरीक्षण गर्न समेत अफ्ठ्यारो परेको बताउनुभयो ।

उहाँले एक घर एक धाराको अवधारणा र यसको गुणस्तरीय संरचना निर्माणमा कोही पनि नछुटुन भन्ने सोचका साथ गाउँपालिकाले पनि साझेदारी गर्ने बताउनुभयो ।
कार्यशालामा मनास्लु क्षेत्र संरक्षण आयोजनाका अधिकृत अजित तुम्बाहाम्फेले जलवायु परिवर्तनका कारण मूलसुक्ने समस्या बढ्दै गएको प्रति ध्यानाकर्षण गराउँदै वास मास्टर प्लानमा मूल संरक्षणको विषय समेट्नुपर्ने सुझाव दिनुभयो ।
कार्यशालामा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, खानेपानी तथा सडक उपभोक्ता समितिका प्रतिनिधी, गणकहरु गाउँपालिकाका कर्मचारी, पूर्णिमा कार्यक्रमका प्रतिनिधीहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो ।
मोट म्याक डोनाल्ड द्वारा पुर्णिामा कार्यक्रम गोरखा सहित धादिङ, नुवाकोट ,रसुवा, लमजुङ, ललितपुर, मकवानपुर लगायत जिल्लामा सञ्चालित छ ।
गाउँपालिकाको गुरुयोजना निर्माणको जिम्मा पाएको एनडीआई प्रालिलाई गुरुयोजना निर्माणको लागि ३ महिनाको समय दिइएको छ । एनडीआईले गोरखाकै धार्चे र अजिरकोट गाउँपालिकाको वास मास्टर प्लान पनि बनाइरहेको छ ।


1555 पटक हेरिएको 

