मन्त्रीले हात धोएपछि गाउँ ‘खुला दिसामुक्त’

कपिलवस्तु : मायादेवी गाउँपालिका खुला दिसामुक्त घोषणा गरिएको छ । गाउँपालिकाका ६ हजार ८ सय ४ घरधुरीमा शौचालय निर्माण भएपछि घोषणा गरिएको हो ।

 

वडा–१ को पकडीमा आयोजित सभामा गाउँपालिका अध्यक्ष बजरंगीप्रसाद कुर्मीले खुला दिसामुक्त घोषणा गरे । उनले गाउँपालिकावासीलाई शौचालयबाहिर दिसापिसाब नगर्ने शपथ गराए । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले साबुन–पानीले हात धोएर कार्यक्रमको उद्घाटन गरे । उनले साबुन–पानीले हात धुने तरिका पनि सिकाएका थिए ।

‘शौचालय प्रयोगको निरन्तरताको अनुगमन गर्छौं,’ अध्यक्ष कुर्मीले भने, ‘कमी–कमजोरी देखिए सुधार्छौं ।’ त्यस्तै अब यहाँ पूर्ण सरसफाइका कार्यक्रम सञ्चालन, सुरक्षित खानेपानीको पहुँच अभिवृद्धि र बालमैत्री स्थानीय शासनयुत्त गाउँपालिका बनाउन लाग्ने उनले बताए । त्यसअघि खुला दिसामुक्त हुन बाँकी वडा–१ का १ हजार ६५ घरधुरीमा शौचालय बनेको तथ्यांक पेस गरी वडाध्यक्ष हरिगोविन्द चौधरीले वडालाई खुला दिसामुक्त घोषणा गरेका थिए ।

मन्त्री राईले सरसफाइका कुरालाई व्यवहारमा उतारेर स्वस्थ हुनुपर्ने बताए । ‘सरसफाइमा सतर्कता अपनायौं भने बिरामी भइँदैन,’ उनले भने, ‘धेरै उपचार खर्च जोगिन्छ ।’ उनले कपिलवस्तु, रूपन्देही र नवलपरासीका सबै बुद्धस्थलमा एक घण्टामै पुग्न सक्ने गरी १ सय २५ अर्बको लगानीको बुद्ध सर्किट निर्माणको योजना अघि बढेको सुनाए ।

कार्यक्रममा संघीय सांसद अतहर कमाल र प्रदेशसभा सदस्य सहसराम यादवले थोरै मात्रै सतर्कता अपनाए धेरै रोगव्याधिबाट बचेर सजिलो जीवनयापन हुने कुरामा जोड दिएका थिए । यहाँका १० स्थानीय तहमध्ये जिल्लामा खुला दिसामुक्त घोषणा गर्ने मायादेवी गाउँपालिका चौथो हो । अन्य ६ स्थानीय तह खुला दिसामुक्त हुन सकेका छैनन् ।
साभार : कान्तिपुर दैनिक ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार