रिचार्ज कार्ड र सूर्तीको खोल जथाभावी नफाल्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौ : सरकारले रिचार्ज कार्ड र सूर्तीको खोल जथाभावी नफाल्न आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शिशिर कुमार ढुंगानाको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले यस्ता पदार्थ यत्रतत्र फ्याँक्दा सहरी सौन्दर्य तथा सरसफाइमा नकारात्मक असर परेकाले रिचार्ज कार्ड र सूर्तीको खोल जथाभावी नफाल्न आग्रह गरिएको हो ।

प्रेस विज्ञप्ती मार्फत बैठकको निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्णय कार्यान्वयनबाट सडक तथा अन्य खुला क्षेत्रमा रिचार्ज कार्ड तथा सुर्तिजन्य वस्तुको खाली खोल फ्याँक्ने कार्य निरुत्साहित हुनुका साथै सहरी सौन्दर्यमा बढोत्तरी हुने आशा गरेको छ ।

कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘मोबाइल सेवा प्रदायक दुरसञ्चार कम्पनीहरुले विक्री वितरण गरेका रिचार्ज कार्डहरुको प्रयोग पश्चात तथा सुर्तीजन्य पदार्थको उपभोग पछि उपभोक्ताहरुले खाली प्याकेटहरु सडकमा यत्रतत्र अव्यवस्थित रुपमा फ्याँक्ने कार्यले सहरी सौन्दर्य तथा सरसफाइमा नकारात्मक असर परिरहेको हुँदा यसलाई व्यवस्थित गर्न सेवा प्रदायक कम्पनीहरुले उपयोग भइसकेका रिचार्ज कार्डहरु र सुर्तीजन्य वस्तु उत्पादकहरुले त्यस्तो वस्तुको उपयोग पश्चात खाली प्याकेटहरु संकलन तथा व्यवस्थापन गर्न उत्प्रेरणात्मक कार्यहरु सञ्चालन गर्ने सम्बन्धमा सरोकारवाला निकायका पदाधिकारीहरुको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिवको संयोजकत्वमा भएको बैठकले निर्णय गरेको छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शिशिर कुमार ढुंगानाको संयोजकत्वमा बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल टेलिकम, नेपाल दुरसञ्चार प्राधिकरण, एनसेल लगायतका टेलिफोन सेवा प्रदायक कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सुर्तीजन्य पदार्थ उत्पादक संघका प्रतिनिधीहरु, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र उद्योग विभागका महानिर्देशकको उपस्थिति थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार