
वीरगञ्ज : मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेकोमा आफूलाई लाज लागेको बताउनुभएको छ । वीरगञ्जमा आयोजित खुल्ला दिसामुक्त अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले स्थानीय तह खुला दिसामुक्त नहुँदा त्यहाँका जनप्रतिनिधिलाई पनि लाज लाग्नुपर्ने बताउनुभयो ।
दाइजोमा मोटरसाइकल गाडी, सुनचाँदी गरगहना चाहिन्छ भनेर माग गर्ने तर त्यो बुहारी घरमा आएपछि साँझ बिहान दिसा पिसाब गर्न कहाँ जान्छन भन्ने चिन्ता नगर्ने प्रबृत्तिले आफूलाई चिन्तित तुल्याएको उहाँले बताउनुभयो । ‘पैसा नभएर होइन दिमागमा चर्पी नभएर हो’ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री राउतले प्रदेशलाई खुल्ला दिसामुक्त बनाउन आर्थिक, भौतिक सहयोग गर्ने मात्र नभई आवश्यक परेमा आफैं उपस्थित हुने समेत प्रतिबद्धता जनाउनुभयो ।
‘घरमा ट्याक्टर राखेको छ, ठूला ठूला कुरा गर्न जानेको छ, तर चर्पी बनाएर दिसा गर्न जानेको छैन ।’उहाँले भन्नुभयो । चर्पी बनाउन जमिन नभए प्रदेश सरकारले सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खुला दिसामुक्त बनाउन के कति स्रोत साधन चाहिन्छ आफूलाई भन्न पनि उहाँले आग्रह गर्नुभयो । प्रदेश सरकारले विद्यालयमा अध्ययनरत छात्राका लागि लक्षित गरेर १ सय वटा शौचालय निर्माण गर्ने पनि उहाँले बताउनुभयो । ‘विद्यालयको ठूलो विल्डिङ बनाउँछन् तर चर्पी एउटा हुन्छ । छात्र त जहाँ पनि जान्छन् । छात्रा कहाँ जाने ?’उहाँले भन्नुभयो ‘गल्र्सहरुका लागि लक्षित गर्दै १३र१४ लाख रुपैयाँ खर्च गरेर १ सय वटा सामुदायिक विद्यालयमा चर्पी बनाउँदैछौं । त्यसैमा स्यानेटरी प्याड पनि राख्ने भन्ने सोच छ ।’
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव ईन्जिनियर देवेन्द्र झाले पर्सादेखि ढल्केवर सम्मको क्षेत्र सरसफाइमा चुनौतीपूर्ण रहेको बताउनुभयो ।
प्रदेश नं २ को ८ जिल्ला मध्ये ५ वटा जिल्ला खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छ । बारामा ९३ प्रतिशत, पर्सामा ९८ प्रतिशत, महोत्तरी र धनुषामा ९५ प्रतिशत घरधुरीमा चर्पी बनेको छ ।


1409 पटक हेरिएको 

