स्मार्ट केटी, स्मार्ट स्यानिटरी प्याड

दाङ : महेन्द्र मावि तुलसीपुरमा १० कक्षामा अध्ययनरत मोनिका बुढा मगर महिनावारी भएपछि पढाइ छोडेर घर जान्थिन् । झोलामा प्याड बोक्न लाज लाग्ने भएकाले उनलाई घर फर्कनुपर्ने बाध्यता हुन्थ्यो ।

उनी मात्रै होइन, विद्यालयका सबैजसो किशोरीलाई त्यही समस्या थियो तर मंगलबारदेखि भने उनीहरू स्मार्ट भएका छन् । स्मार्ट कार्डको सहायताले विद्यालयमै मेसिनबाट प्याड निकाल्छन् र प्रयोग गर्छन् ।

विद्यालय अनुगमनका क्रममा महिनावारीका कारण किशोरीले पढाइ छोड्नुपरेको गुनासो गरेपछि तुलसीपुर उपमहानगरपालिका–१२ ले स्मार्ट स्यानिटरी प्याड मेसिन खरिद गरिदिएको हो । ‘धेरै किशोरी महिनावारीको समयमा प्याड नभएका कारण घर फर्कंदा रहेछन्,’ वडाध्यक्ष श्याम डाँगीले भने, ‘किशोरीको शिक्षा र स्वास्थ्यलाई मध्यनजर गरी स्मार्ट मेसिन ल्याइएको हो ।’ १ लाख २५ हजार रुपैयाँको लागतमा स्मार्ट मेसिन जडान गरिएको उनले बताए ।

स्मार्ट मेसिन भएपछि किशोरीहरूलाई महिनावारीका समयमा ढुक्क भएको छ । स्मार्ट कार्ड नभएमा दुई रुपैयाँको सिक्का राखेर पनि प्याड निकाल्न सकिन्छ । १० कक्षाकै सुप्रिया गौतमलाई पनि महिनावारी हुँदा आपत् पर्थ्यो । कि त घर जानुपर्ने कि बजार गएर प्याड किन्नुपर्ने । अहिले भने उनी ढुक्क भएकी छन् । ‘पहिले पढाइ नछोड्न बजार गएर आफैं किनेर ल्याइन्थ्यो । कहिले कक्षा छोडेर घरमै फर्कन्थ्यौं,’ उनले भनिन्, ‘अब धेरै सजिलो भएको छ । सबै विद्यालयमा यस्तै मेसिन राखे किशोरीलाई सजिलो हुन्थ्यो ।’ यो खबर कान्तिपुर दैनिकले छापेको छ ।

पहिले महिनावारी हुँदा किशोरीलाई घर पठाउनुपर्ने बाध्यता रहेको स्मार्ट स्यानिटरी प्याड मेसिनकी सम्पर्क शिक्षिका इन्दिरा शर्माले बताइन् । ‘कति किशोरीले महिनावारी भयो भन्न पनि अप्ठ्यारो मान्थे । पेट दुख्यो भनेर घर जान्थे,’ उनले भनिन्, ‘कतिले भने पनि घर जाऊ भन्नुपर्ने बाध्यता थियो । अब किशोरी आफैंले सजिलै प्याड निकाल्न सक्छन् ।’ मेसिनमा एकपटकमा एक सय ओटा प्याड हुन्छन् ।

किशोरी स्वास्थ्यका लागि स्मार्ट मेसिन निकै उपयोगी रहेको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख डा। गोकर्ण दाहालले बताए । ‘यसले किशोरीको स्वास्थ्य सुरक्षा गर्छ । महिनावारीको समयमा विद्यालय जान कुनै डर हुँदैन,’ उनले भने, ‘पढ्दापढ्दै समस्या भए पनि तत्कालै मेसिनबाट निकालेर प्रयोग गर्न पाइन्छ ।’

किशोरीको शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन अन्य वडाका विद्यालयमा पनि यो प्रविधि विस्तार गरिने नगरप्रमुख घनश्याम पाण्डेले बताए । समयको विकासअनुसार स्मार्ट प्रविधिको उपयोग गर्न आवश्यक रहेको उनले बताए ।

‘हामी स्मार्ट उपमहानगर बनाउने योजनामा छौं,’ उनले भने, ‘यो अभियान पनि त्यसको एउटा महत्त्वपूर्ण अंश हो ।’ तुलसीपुर उपमहानगरले यसअघि नै स्मार्ट छोरीको अभियान थालिसकेको छ । स्मार्टप्याडले स्मार्ट छोरी बनाउन सहयोगगर्ने उनले बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार