विनोद शर्मा, मेलम्ची ।

मठमन्दिर गुम्बा गई पुजा गर्नु हुँदैन रे हामीले
गरिहालेमा पापिनी भई भन्छन् नी सबैले ।
भोग्दै आएको यिनै व्यथा आमा दिदी बहिनीले
महिनावारी हुन्छ देवीलाई नी बुझ्दैन कसैले ।
हेलम्बु गाउँपालिका वडा नम्बर २ खर्कडाँडामा रहेको नुर्बुलिङ माध्यमिक विद्यालय कक्षा १० की छात्रा फुलसानी तामाङले महिनावारी हुँदा महिलाले भोग्नु पर्ने पीडालाई कविता मार्फत सुनाइन् ।
उनको कवितामा महिनावारीलाई समाजले अझै अन्धविश्वासी एवं नकारात्मक दृष्टिबाट हेर्ने गरेको कारण महिलाले अमर्यादित र असुरक्षित जीवन गुजार्न बाध्य हुनु परेको कुरालाई उल्लेख गरिएको थियो । महिनावारी प्राकृतिक प्रक्रिया भएकोले सरसफाइमा ध्यान दिनु पर्ने तर बार्न नहुने कुरालाई उनले कविता मार्फत खुलस्त पारेकी छिन् ।
घाँसको भारी बोक्न खेत खन्न दिन्छ
चुलो चाँही तैंले छुन हुन्न भन्छ ।
प्रयोग गरौं सधैं प्याड अनि सफा नरम कपडा
आफैं अघि बढेमा मान्नु पर्दैन छाउपडी प्रथा ।।
महिनावारी स्वच्छता व्यबस्थापन दिवसका अवसरमा विद्यालयमा भएको कविता प्रतियोगितामा फुलसानीले लेखेको कविता दोस्रो भयो । कक्षा १० कै छात्रा पेम्बा डोल्मा लामाले महिनावारीका बेला सरसफाइमा ध्यान दिन र ४ देखि ६ घण्टामा प्याड फेर्ने सुझाव सहितको कविता सुनाइन् ।
महिनावारीका बेला घाम हेर्न नहुने, पुजा आजा गर्न नहुने, ब्रतबन्ध गरेका पुरुषलाई छुन नहुने जस्ता अन्धविश्वासी चलन अझै समाजमा रहेकोले ती चलनलाई हटाउँदै जानु पर्ने कुरा लामाको कवितामा छन् :
महिनावारीको समयमा सकेसम्म दैनिक नुहाउने
प्रयोग गरेको कपडालाई धुने र घाममा सुकाउने ।
सेनिटरी प्याड अथवा नरम कपडा प्रयोग गर्ने
प्रयोग गरिरहेको प्याडलाई ४ देखि ६ घण्टामा फेर्ने ।।
प्रतियोगितामा पहिलो भएको लामाको कवितामा बजारमा पाइने प्याडको सट्टा घरमैं पुनः प्रयोग गर्न मिल्ने प्याड सिलाएर प्रयोग गर्ने सन्देश छ । उनको कवितामा बजारको प्याड प्रयोग गरे पनि त्यसलाई व्यबस्थित तरिकाले बिसर्जन गर्नु पर्ने, महिनावारीका विषयमा खुलेर छलफल गर्नु पर्ने कुरालाई प्रमुखताका साथ उठाइएको छ :

जथाभावी प्याड नफालौं रोग फैलिन सक्छ
त्यही प्याडलाई कुकुरले बोकी गाउँ डुल्न थाल्छ ।
पुनः प्रयोग गर्न मिल्ने प्याडहरु घरमा सिलाऔं
आफुले जानेपछि गाउँ घरमा अरुलाई सिकाऔं ।
महिनावारीको विषयमा छात्रले समेत कविता सुनाएका थिए । कक्षा ९ का अनिष तामाङ र मनबहादुर तामाङले महिनावारीका लागि पूर्वतयारी गर्नु पर्ने, अभिभावकसँग पनि खुलेर छलफल गर्नु पर्ने कुरालाई समेटेर कविता सुनाएका थिए । महिनावारीका बेला महिलालाई गोठमा राख्ने चलन गलत भएको भन्दै उनीहरुले घरमैं राख्ने सुझाव कविता मार्फत दिएका छन् :
महिनावारी भयो भन्दै राख्नुहुन्न गोठमा
सफा सुग्घर बनाएर राख्नु पर्छ घरमा ।
महिनावारी भयो भन्दै जिस्काउनु हुन्न
त्यसका लागि गर्नुपर्छ हामीले अभियान ।।
तेस्रो हुन सफल उनीहरुको कवितामा महिला महिनावारी भएनन् भने श्रृष्टि रोकिने भएकोले उनीहरुलाई सम्मान गर्नु पर्ने हेलाँ गर्न नहुने कुरालाई जोड दिइएको छः
पूर्वतयारी गर्नुपर्छ महिनावारी हुनु अघि
भएन भने हुन्छौं हामी आफैं धेरै रोगी ।
यस्तो बेला अभिभावकसँग सल्लाह राखौं
कहीँ कतै जाने बेला प्याडलाई साथमैं बोकौं ।।
खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्धनका क्षेत्रमा सिन्धुपाल्चोकमा लामो समयदेखि क्रियाशील संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले मर्यादित महिनावारीका विषयमा विद्यार्थीको ज्ञान र भोगाइलाई कवितामार्फत आदान प्रदान गर्ने अवसर जुराएको थियो ।
सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालयको पुननिर्माण परियोजना अन्तर्गत मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी शीर्षकमा कविता प्रतियोगिता सञ्चालन गरिएको मञ्चले जनाएको छ । ‘कारितास स्वीटजरल्याण्ड र हेल्भेटास नेपालको आर्थिक सहयोगमा सिन्धुपाल्चोकका ३६ विद्यालयमा भवन पुननिर्माण, ३७ विद्यालयमा खानेपानी तथा सरसफाइ संरचना निर्माणसँगै २० विद्यालयमा महिनावारी व्यबस्थापनको कामसमेत गरिरहेका छौं ।

विद्यार्थीलाई महिनावारी व्यबस्थापनका बारेमा सिकाउँदै पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने सीप समेत सिकाएका छौं ।’ बरिष्ठ सामाजिक परिचालक नवराज सापकोटाले भन्नुभयो, ‘महिनावारी स्वच्छता व्यबस्थापनका विषयमा विद्यार्थीमा भएको ज्ञानलाई कविता मार्फत आदान प्रदान गर्ने र महिनावारीका विषयमा खुलेर छलफल गर्ने वातावरण बनाउन विद्यालयसँगको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो ।’
महिनावारी व्यबस्थापनका बारेमा छात्र छात्रा दुवैले कविता मार्फत आफ्ना ज्ञान, धारणा, बुझाइ र भोगाइ आदान प्रदान गर्नुले महिनावारीका विषयमा विद्यालयस्तरमा खुलेर छलफल हुन थालेको र यो सन्देश विद्यार्थी मार्फत अभिभावकसम्म पुग्ने विश्वास मञ्चको छ ।


6799 पटक हेरिएको 

