कानुन कार्यान्वयन गर्ने निकायबाटै उल्लंघन, नगरपालिकाको फोहोर सीधै सेतीमा

 

तनहुँ : तनहुँको भिमाद नगरपालिकाले नगरपालिका क्षेत्रबाट संकलित फोहोर सीधै सेती नदीमा फाल्ने गरिएको छ । ल्यान्डफिल साइट नभएको कारण देखाउँदै नगरपालिकाले बजार क्षेत्रको फोहोर सीधै सेती नदीमा फाल्ने गरिएको हो । नगरपालिकाले सेती नदीको किनारमा लगेर कतिपय फोहोरमा आगो लगाउने र जलेर बाँकी रहेका फोहोर नदीमा मिल्काउने गरिएको छ । जथाभावी फालिने फोहोरले नदी प्रदूषित हुनाका साथै नजिकको बस्तीमा दुर्गन्ध फैलिएको छ ।

नदी किनारमा फ्याँकिएका फोहोरले जनज्योति क्याम्पस र म्याग्दे–५ छाङपाटन बस्तीमा दुर्गन्ध फैलिएको मीरा थापाले बताउनुभयो । उहाँका अनुसार दिउँसोको समयमा दुर्गन्धले गाउँमा बसिनसक्नु भएको छ ।

भिमाद–६ साँढेहुलस्थित नदी किनारमा फोहोर फाल्ने र पशुजन्य हाडखोर र सडेको छाला एवं फोहोरमा आगो लगाउँदा गन्धले सास र्फेर्न समेत गाह्रो हुने उहाँले बताउनुभयो ।

फोहोर नफाल्न भिमाद नगरपालिकालाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको स्थानीयले बताएका छन् । फोहोरको दुगर्न्धले गाउँका २ सय घर परिवारलाई असर पारेको छ । म्याग्दे–५ का वडाध्यक्ष शिवबहादुर आलेले फोहोरको दुर्गन्धले छाङपाटनमा असर परेको बताउनुभयो । फोहोरले पारेको असर र जनताको गुनासो भिमादलाई पत्राचार गरी जानकारी गराए पनि सुनुवाई नभएको उहाँले बताउनुभयो ।

फोहोरको दुर्गन्ध जनज्योति क्याम्पस परिसरसम्म आएपछि यसले पठनपाठनमै समस्या ल्याएको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताउनुभयो । भिमादको प्रमुख समस्या ल्यान्डफिल साइड रहेको र ल्यान्डफिलका लागि जग्गाको खोजी भइरहेको नगरप्रमुख मेखबहादुर थापाले बताउनुभयो ।

रातढुंगा क्षेत्रमा ल्याण्डफिलका लागि अध्ययन भइरहेको उहाँको भनाइ छ । बजारबाट निस्केका फोहोरलाई व्यवस्थित गर्नका लागि कुहिने र नकुहिने वर्गीकरण गरेर व्यवस्थापन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार एकाइले नगरपालिकाको सहयोग र समन्वयमा ५ वर्षदेखि फोहोरमैला व्यवस्थापन गर्दै आएको छ । भिमाद बजारबाट सातामा १२ देखि १४ ट्याक्टर फोहोर संकलन हुने गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार