
मनिराज पाण्डे, कालिकोट
कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले आर्थिक बर्ष २०७६/२०७७ मा खानेपानी तथा सरसफाइका लागि झण्डै १५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
गाउँपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०७६/०७७ का लागि विनियोजित ६२ करोड ४२ लाख १४ हजार ८ सय ६१ बजेट मध्ये खानेपानी र सरसफाइ तर्फ १४ करोड ९८ लाख ६७ हजार २० रुपैयाँ छुट्याएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँताती कान्छाले जानकारी गराउनुभयो ।
यसै बर्ष भित्र एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने गरी बजेट ब्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले बताउनुभयो । उहाँका अनुसार यसै बर्ष पलाँताका २ हजार ४ सय घरधुरीमा शुद्ध खानेपानी पु¥याउने गरी काम भइरहेको छ ।
गाउँपालिकाले वडा नं. ९ मा आर्थिक बर्ष २०७५/०७६ मा वाटर एडको सहयोग किर्डाक नेपालको सहजिकरणमा २ सय ५ घरधुरीमा खानेपानी पु¥याएको छ । यस बर्ष वाटर एड र किर्डाक नेपालको सहजिकरणमा गाउँपालिका पलाँता ७ र ८ मा खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रमहरु संचालन गरिरहेको छ । त्यहाँका ३ सय ८३ घरधुरीमा यसै बर्ष खानेपानी पु¥याउने लक्ष्य छ ।
तोकिएको समय अवधि भन्दा ढिलो आएको नीति तथा कार्यक्रमले स्थानीय समस्याहरुको सामाधान खोज्ने वडा नं. ४ का अध्यक्ष ऐनराज महताराले बताउनुभयो । गाउँपालिकाले आवश्यता र भुगोलका आधारमा बजेट तथा कार्यक्रम ल्याएकाले स्थानीय खुशी भएको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताउनुभयो ।

माध्यमिक शिक्षा पूर्ण निशुल्क
गरिवीको चर्को मार खेपिरहेको पलाँता गाउँपालिकाले माध्यामिक शिक्षा पूर्ण निशुल्क गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पलाँतामा २९ वटा आधारभूत बिद्यालय र ६ वटा माध्यामिक बिद्यालय छन् । यसै बर्ष गाउँपालिकाले पलाँता ९ थिर्पुमा शहिद स्मृति नमूना आवासीय बिद्यालय, पलाँता २ को सरस्वती माध्यामिक बिद्यालयमा कृषि शिक्षा र देउली माध्यमिक विद्यालय उखाडीमा भेटेनरी शिक्षा संचालन गर्ने भएको छ ।
आफ्नै सार्वजनिक यातायात
गाउँपालिकाले ४ ठाउँ बाट सडक बिस्तार गरेको छ । बेल्के ढुंगा मोहर पुलाँहा छलाह सडकको १५ कि.मी, मोहोर सैन लोडे २ कि.मी, बेल्केढुगा वडा कार्यालय हुर्दै दुर्सि फागोटी ४ कि.मी र ओदी काँद छलाहाँ सडक ११ कि.मी ट्याक ओपन कार्य सम्पन्न भएको प्राविधिक प्रमुख पदमबहादुर शाहीले बताउनुभयो ।
गाउँपालिकाले सार्वजनिक यातायात सेवाका लागि १ करोड ५० लाख छुट्याएको छ । पालिकाले बेल्के ढुंगा मोहर पुलाँहा छलाह सडकमा अब आफ्नै गाडी गुडाउने भएको छ । १५ कि.मी ट्याक ओपन गरिएको सडकमा गाडी गुडेपछि ५ घण्टाको उकालो बाटोमा स्थानीय भारी बोग्दै पसिना चुहाँउदै हिड्नु पर्ने बाध्यताको अन्त्य हुने छ ।
१५ सैयाको अस्पताल
पलाँता ९ थिर्पुमा यसै बर्ष १५ सैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गरिने भएको छ । अस्पताल निर्माण तथा ब्यवस्थापनका लागि गाउँपालिकाले १ करोड ८० लाख बजेट बिनियोजन गरेको छ ।
त्यस्तै पलाँता ४ को कयरदेवमा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्बेदिक अस्पताल संचालनमा ल्याउने गरी बजेट तथा कार्यक्रम ल्याएकोे गाउँपालिका अध्यक्ष बमले बताउनुभयो ।
जनयुद्धका घाइतेलाइ बजेट
सशत्र युद्धका क्रममा घाईते तथा अंगभंग भएकाहरुका लागि जीनव निवाहका लागि गाउँपालिकाले ४४ लाख बजेट बिनियोजन गरेको छ । सामान्य युद्धका घाइतेहरुलाइ गत बर्षको बजेट बाट सम्बोधन गरिएको र गम्भीर प्रकृतिका घाइतेहरुका लागि यस बर्ष गाउँपालिकाले सम्बोधन गरेको छ ।
एक परिवार दश बिरुवा
गाउँपालिका एक परिवार दश बिरुवा कार्यक्रम संचालन गर्ने भएको छ । सुख्खा र खडेरीग्रस्त पलाँतामा हरियाली बनाउन उक्त कार्यक्रम ल्याइएको वडा नं. ५ का अध्यक्ष बिरबहादुर बमले बताउनुभयो ।
एक परिवार दश बिरुवा कार्यक्रमका लागि गाउँपालिकाले ९० लाख बजेट बिनियोजन गरेको छ ।



875 पटक हेरिएको 

