काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव चन्द्र बहादुर केसीले पूर्ण सरसफाइ अभियान सञ्चालनका लागि दिसाजन्य लेदो व्यवस्थापन मुख्य चुनौती हुने बताउनुभएको छ । खुला दिसामुक्त अभियानका क्रममा सबै घरमा चर्पी बनिसकेको र ती चर्पीका सेफ्टी ट्याङ्की भरिदै गएकाले त्यसको व्यवस्थापन मुख्य चुनौती रहेको उहाँको भनाई थियो ।

पूर्ण सरसफाइ सम्बन्धी राष्ट्रिय कार्यशाला तयारीका लागि ललितपुरमा आयोजित परामर्श बैठकमा उहाँले पूर्ण सरसफाइ अभियान सञ्चालनका लागि धेरै समस्याहरु रहेको बताउनुभयो । दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्ममा पूर्ण सरसफाइ र सबै जनतालाई सुरक्षित पानीको पहुँच पु्याउनुपर्ने कार्य चुनौतीपूर्ण रहेको भन्दै उहाँले यसका लागि सानो प्रयासले सम्भव नहुने बताउनुभयो । उहाँका अनुसार हाल सुरक्षित खानेपानी पिउने जनसंख्या २० प्रतिशतको हाराहारीमा छ भने ९५.५ प्रतिशत नागरिकमा आधारभूत सरसफाइको पहुँच पुगेको छ ।

कार्यक्रममा स्वागत गर्दै खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाले तराईमा बाढी र डुबानका कारण ९५ प्रतिशत टयूबेलको पानी प्रदुषित भएको हुनसक्ने बताउनुभयो ।
उहाँले सेफ्टी ट्याङ्क र ट्यूबेल सँगसँगै भएकाले ९५ प्रतिशत पानीको स्रोत प्रदुषित हुनसक्ने सम्भावना भएकाले त्यसलाई शुद्धिकरण गर्न ध्यान दिनुपर्ने बताउनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागले अब ढल व्यवस्थापन र दिसाजन्य लेदो व्यवस्थापनको काममा पनि हात हाल्न थालिसकेको भन्दै उहाँले अब यो कामलाई पूर्ण सरसफाइ सँगै एकाकार बनाएर लैजाने बताउनुभयो ।

उहाँले कुर्सीमा सधैं रहिरहन नसक्ने भएकाले कुर्सीमा हुँदा त्यसको इज्जत गर्न सक्नुपर्ने भन्दै कुर्सीले दिएको जिम्मेवारी कुशलताका साथ निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सरसफाइमा नेपाल भन्दा धेरै पछाडि रहेको भारतले सरसफाइमा प्रगति हासिल गर्दै गएको प्रसँग निकाल्दै उहाँले भारत भन्दा अगाडि नै नेपालले देशलाई नै खुलादिसामुक्त घोषणा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एसएनभी नेपाल, प्लान इन्टरनेश्नल नेपाल, ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति, वाटर एड नेपाल, युनिसेफ नेपाल, यूएन ह्याबिट्याट र स्थानीय पूर्वाधार विभाग लगायतले पूर्ण सरसफाइ अभियानमा गरिरहेको काम र क्षेत्रका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा पूर्ण सरसफाइका सूचकहरुको बिषयमा बृहत छलफल भईरहेको छ ।


1013 पटक हेरिएको 

