साँस्कृतिक कार्यक्रमको रकमबाट थुम्काडाँडाको ७२ घरमा डस्टबिन

 

लमजुङ : लमजुङको बेंसीसहर नगरपालिका ३ गाउँशहर थुम्काडाँडाको युवा क्लबले घरघरै डस्टबिन सहयोग गरेको छ । दशैंमा सञ्चालन गरेको साँस्कृतिक कार्यक्रम र तिहारमा देउसीभैलो खेलेर संकलित रकमबाट जनज्योति युवा क्बले घरघरै डस्टबिन वितरण गरिएको हो । विभिन्न सामाजिक कार्य गर्दै आएको क्लबले गाउँलाई सफा, स्वच्छ बनाउन गाउँका ७२ घरमा डस्टबिन वितरण गरिएको क्लबका अध्यक्ष सञ्जय दुलालले बताउनुभयो ।

उहाँका अनुसार क्लबले सञ्चालन गरेको साँस्कृतिक कार्यक्रमबाट संकलन भएको ५८ हजार रुपियाँबाट गाउँमा डस्टबिन वितरण गरिएको हो । उहाँले भन्नुभयो–‘हरेक बर्ष हामीले गाउँ र छिमेकी गाउँमा देउसीभैलो खेल्छौं । रकम संकलन गर्छौं । हरेक बर्ष एउटा न एउटा सामाजिक काम गर्छौं । यो पटक गाउँलाई सरसफाई राख्न डस्टबिन दिएका हौं ।’

थुम्काडाँडामा होमस्टेको पनि सुरुवात भइरहेको र गाउँमा आउने पाहुनाले सरसफाइ मन पराउने भएकाले त्यसलाई लक्षित गरी डस्टबिन खरिद गरि वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीयले उक्त डस्टबिनमा नकुहिने वस्तु राख्नेछन् । कुहिने वस्तु भने मलको रुपमा प्रयोग गर्ने गरिएको छ ।

 

एक कार्यक्रमका बीच क्लबका अध्यक्ष दुलाल र बेंसीसहर नगरपालिका कार्यापालिका सदस्य एंव भौतिक पूर्वाधार विकास संयोजक अजय मजाकोटीले डस्टबिन हस्तान्तरण गर्नुभएको थियो । मजाकोटीले डस्टबिन वितरण गर्दै वातावरण सफा, स्वच्छ बनाउन डस्टबिनले ठूलो सहयोग गर्ने बताउनुभयो । गाउँका युवा क्लबले गरेको कार्यक्रमले गाउँको वातावरणका साथै गाउँमा आउने पर्यटकलाई समेत आकर्षित गर्ने बताउनुभयो ।

जनज्योति युवा क्लबले यसअघिका बर्षमा देउसीभैलो तथा साँस्कृतिक कार्यक्रम गरेर संकलन भएको रकमबाट गोरेटो बाटो निर्माण, खेलकुद मैदान निर्माण, आर्थिक समस्या भएकालाई सहयोग, हराउँदै गएको रोटेपिङ संरक्षण लगायतको काम गर्दै आएको छ । प्रत्येक हप्ता गाउँमा सरसफाइको कार्यक्रम गरिने क्लबले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार