नर्सरीलाई वाग्मतीको फोहोरबाट उत्पादित मल, वाग्मतीलाई विरुवा

 

काठमाडौ : वाग्मती नदीलाई मुहानदेखि नै स्वच्छ बनाउने अभियान अन्तर्गत गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रबाट फोहर हाल्न नदिने गरी व्यवस्था गरिएको छ ।

नदीमा हालिने कुहिने फोहरलाई कम्पोष्ट विनमा राखी मल बनाउने अभियान शुरु भएको हो । गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने वर्षकै ठूलो मेलाका अवसरमा गत वर्षदेखि यस्तो अभियान शुरु गरिएको थियो । मुहानदेखि नै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले यो उदाहरणीय काम शुरु गरेको हो ।

मञ्चले आज २८९ औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमै गरेको छ । भदौ ११ गते गोकर्णे औँसीको तयारी स्वरुप मन्दिर क्षेत्रमा सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

गत वर्ष मञ्चले भाद्र कृष्ण औँसीका दिन एउटा पनि टपरी नदीमा फाल्न नदिई कम्पोष्ट विनमा राखेको थियो । त्यो कम्पोष्टविन आज खोलेर हेर्दा दुई ट्रक कम्पोष्ट मल जम्मा भएको भेटियो । यो सबै क्षेत्रका सफाइ अभियानकर्मीका लागि उदाहरण हुनसक्छ ।

मल आजै माकालबारी स्थित बज्रयोगिनी नर्सरीलाई दिइएको छ । नर्सरीले वाग्मती नदी किनारको विभिन्न स्थलमा रोप्न बिरुवा दिने जनाइएको छ । वाग्मतीको मुहानदेखि नै नदीलाई सफा बनाउन यस्तो अभियान शुरु गरिएको जनाइएको छ ।

मञ्चले कुहिने फोहरलाई खाडल खनेर गाडी नकुहिने फोहरलाई व्यवस्थापन गर्दै आएको छ । यसो गर्दा फोहरलाई मोहोरमा रुपान्तरण गर्न सकिने भएकाले गुह्येश्वरी माथिको नदी क्षेत्रमा यो अभियान बिस्तार गरिने मञ्चले जनाएको छ ।

मञ्चले गुह्येश्वरीभन्दा माथिको वाग्मती सफाइ गर्ने गरी पूर्व मुख्य सचिव लीलामणि पौडेसँग जिम्मेवारी लिएको थियो । त्यसअनुरुप हाल यो क्षेत्रको वाग्मती उदाहरणीय बन्न थालेको छ । यस क्षेत्रका विभिन्न स्थानमा बगैँचा बनाइएको छ । फलस्वरुप बेलुकी मानिस नदी किनारमा जम्मा भएर बस्न थालेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार