काठमाडौ : काठमाडौं महानगरपालिकाले फोहोरलाई स्रोतबाटै व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहोरलाई फरक फरक दिन संकलन गर्ने भएको छ । काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहोरमैला सडकमा फ्याँक्ने भएकाले घरबाटै फोहोरको व्यवस्थापन गर्न यस्तो योजना ल्याएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुरुमा नमुना वडाका रुपमा महानगरपालिकाको वडा नं. १२, १८ र २१ मा यो योजना लागु हुनेछ । यही भदौ ८ (आइतबार) देखि ती तीनै वडामा कुहिने र नकुहिने फोहोर फरक फरक दिन संकलन हुनेछन् । यसका लागि हरेक फोहोर उत्सर्जन गर्ने व्यक्तिले कुहिने जैविक) र नकुहिने (अजैविक) फोहोरलाई छुट्टाछुट्टै राख्नुपर्नेछ ।
यो कार्यक्रम हालका लागि नमुनाको रुपमा तीन वटा वडामा मात्र लागु गरिए पनि भविश्यमा विस्तार गर्दै ३२ वटै वडामा लागु गरिने वातावरण विभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
हाउस होल्ड फोहोर संकलन प्रणाली लागु हुने व्यहोरा यसै विद्युतिय साधन मार्फत जानकारी गराउदछौं । यस कार्यक्रममा सहभागी हून सम्पूर्ण महानगरवासिहरुमा हार्दिक अपिल गर्दछौ ।
कस्तो फोहोर कहिले संकलन गर्ने ?
कुहिने फोहोर
आइतवार, मंगलवार, विहीवार र शनिवार
नकुहिने फोहोर
सोमवार र बुधवार
यस अघि हरेक घरले सडकमा थुपारिएको फोहोर महानगरपालिकाको गाडीले उठाउने गरिएको थियो । अब कोही कसैले सडकमा फोहोर थुपार्न नपाइने र घर घरबाटै फोहोर संकलन गरिने उहाँले जानकारी दिनुभयो ।
महानगरपालिकाले गाडी प्रवेश गर्न नसक्ने गल्लीमा सिट्टी बजाएर एक ठाउँमा जम्मा पार्न लगाउने र त्यहाँ सम्म सम्बन्धित व्यक्तिले नै ल्याउनुपर्ने वातावरण विभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।