
महोत्तरी : महोत्तरी खुला दिसामुक्त घोषणाको अन्तिम कसरतमा छ । तोकिएको समयभित्रै खुला दिसामुक्त घोषणा गर्न यत्तिबेला महोत्तरी अन्तिम बल लगाउँदैछ । । महोत्तरी साँच्चिकै यत्तिबेला चर्पीमय भएको छ । मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएसँगै हालसम्म ११ स्थानीय तह खुला दिसामुक्त घोषणा भईसकेका छन् ।
भदौ पहिलो पाँच दिनभित्रै महोत्तरी गाउँपालिका र मटिहानी नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएका हुन् । बिहीबार खुला दिसामुक्त क्षेत्र घोषणा भएको मटिहानी नगरपालिका क्षेत्रमा पाँच हजार २२७ घरधुरी छन् ।
जिल्लाका १५ स्थानीय तह मध्ये अब मटिहानीसहित भङ्गाहा, बर्दिवास, गौशाला, रामगोपालपुर, बलवा र मनराशिशवा नगरपालिका एवं महोत्तरी, सम्सी, सोनमा र पिपरा गाउँपालिका, एकडारा गाउँपालिका खुला दिसामुक्त घोषणा भएका जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलेले जनाएको छ ।
अब जिल्लाका औरही, लोहारपट्टी र जलेश्वर नगरपालिका मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छन् । बाँकी स्थानीय तहमा शौचालय निर्माण र सरसफाइ सम्बन्धी काम अघि बढेकाले भदौ मसान्तभित्रै जिल्ला नै खुला दिसामुक्त क्षेत्र घोषणा भइ सक्ने जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सुरेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

जिल्लाका १५ स्थानीय तहमा कूल एक लाख ११ हजार ३४ घरपरिवार मध्ये अब शौचालय नहुने घर तीन अङ्कमा झरेको छ । अब ७०० हाराहारी घरमा मात्र शौचालय बन्न बाँकी रहेका अध्यक्ष सिंह बताउनुहुन्छ ।
जिल्लामा खानेपानी, सरसफाइ तथा स्वच्छता अभियानमा युएन ह्याविटेट, युनिसेफ र एसएनभी नेपाल सहितका विकास साझेदार तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था र जिल्लामा कार्यरत १० वटा सामाजिक सङ्घसंस्थाले जिल्ला समन्वय समिति र स्थानीय तहको समन्वयमा काम गरिरहेका छन् ।


1418 पटक हेरिएको 

