विनोद महतो/ कलैया, बारा

बारामा ६ बर्ष अघि सरसफाइ अभियान सुरु हुँदा ७४ प्रतिशत घरपरिवारले खुल्ला ठाउँमै दिसापिसाब गर्थे । २०७० सालमा खुल्ला दिसामुक्त अभियान सञ्चालन गर्नु अघिको सर्वेक्षण अनुसार कुल घरपरिवार मध्ये २६ प्रतिशत घरमा मात्र सुरक्षित चर्पीको पहुँच थियो ।
६ बर्ष अघि ७४ प्रतिशत घरले खुला ठाउँमा दिसा गर्ने गरिएको बारा जिल्ला शुक्रबार देखि खुला दिसामुक्त जिल्ला बनेको छ । सरसफाइ अभियानको तथ्यांक अनुसार कुल १ लाख ५ हजार १५ घरधुरीमै शौचालय बनाएर प्रयोगमा आएपछि जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।
डिवाससीसी बाराका अनुसार बारा जिल्लाको सबै घरधुरी, सरकारी, अर्ध सरकारी, संघसंस्था, विद्यालय लगायत सबै कार्यालयहरुमा चर्पीको पहुँच पुगेको छ ।
यसरी आएको थियो, चर्पी बनाउने लहर
बाराको सबै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकालाई खुल्ला दिसामुक्त बनाउनको लागि विभिन्न साझेदार संघ संस्थाहरु मार्फत अभियान चलाइएको थियो । चर्पी निर्माण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेपछि चर्पी निर्माणको कामले तिव्रता पाएको थियो ।
जिल्लामा अभियानलाई तिव्रता दिन जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (D-WASH-CC) र सबै पालिकाहरुमा पालिकास्तरीय र वडा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (Palika/ward WASH-CC) गठन गरी साझेदार संघ संस्थाहरु मार्फत अभियानले गति लिए पछि बाराका सबै क्षेत्रमा चर्पी निर्माण भई जिल्लालाई ओडिएफ गर्न सफल भएको डिवाससिसिका अध्यक्ष नवल किशोर सिंहले बताउनुभयो ।
स्थानीय तवरबाट पालिका, वडा र टोल तहमा शौचालय निर्माण कार्य भएको र यसको लागि ग्लोबल स्यानिटेसन फण्ड÷यू.एन् ह्याविट्याट, युनिसेफ, फण्ड बोर्ड, एस.एन.भी, रेडक्रस लगायतका विकास साझेदार संघसंस्थाहरुसँगको साझेदारीमा आई.डि.एस.नेपाल, चेक नेपाल, एन्फो, जिल्ला रेडक्रस, जनजागरण युवा क्लव, पुनर्जागरण समाज नेपाल, आर.आर.ए.एफ.डि.सी, आर.डि.सी, सरंक्षण नेपाल, न्यू यङ्घस्टार युवा क्लव लगायत संस्थाहरुको सहजीकरणमा विभिन्न तहमा वास सिसिका पदाधिकारीबाट सहजीकरण तथा अभिमुखीकरण गर्नुका साथै समुदायको अगुवाइमा अभियानको थालनी भएको थियो ।

नेपाल सरकारको सरसफाइ गुरुयोजना २०६८ मा उल्लेख भए अनुसार जिल्ला तहबाट शुन्य अनुदान पद्धतिलाई अवलम्बन गरिएको छ । तर पनि केही पालिकाहरुमा अति गरिव र विपन्न घरपरिवारलाई सामान्य सहयोग र पुरस्कारको व्यवस्था पालिकास्तरबाटै गरिएको थियो ।
खुल्ला दिसामुक्त अभियानको प्रगतिको आधारमा देशमै सबैभन्दा पछि परेको बारा जिल्लाले दौडहा टोलीको प्रभावका कारण अन्य जिल्ला भन्दा अगाडि आएकाले बारा जिल्लालाई अन्य जिल्लाभन्दा अगाडि ओडिएफ गर्न पाउँदा गौरवान्वित भएको डिवाससिसिका सदस्य सचिव जक्की अहमद अन्सारीले बताउनुभयो ।
सरसफाइमा बाराले हासिल गरेको यो उपलब्धी जिल्लाकै गर्वको बिषय भएको र अब पूर्ण सरसफाइको यात्रा अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
अब जिल्लामा अभियानको वर्तमानको मुुख्य चुुनौतीको रुपमा खुुल्ला दिसामुक्त अवस्थालाई दिगोपना दिनु नै हो ।
पूर्ण सरसफाइ नै स्वच्छ, स्वस्थ र सुरक्षित जीवनको आधार हो भन्ने मान्यताका साथ बारा जिल्लाले अब सुरु गर्ने पूर्ण सरसफाइ अभियानको दोस्रो चरणमा दिगो विकासका लक्ष्य नं. ६ समेत हासिल हुने उहाँले बताउनु भयो ।
अभियान अवधिमा बने ६५ हजार बढी चर्पी
अभियानको दौरानमा मात्र ६५ हजार भन्दा बढी चर्पी बनेका छन् । यो चानचुने कुरा थिएन । बारामा सरसफाइ अभियानको अवधिमा स्थानीय तहमा निर्माण भएको चर्पीको संख्या
स्थानीय तहको नाम घरधुरी संख्या अभियान अघि रहेको चर्पी अभियान पछि बनेको चर्पी
१ निजगढ नगरपालिका ७,०१२ ४,०१२ २९९५
२ प्रसौनी गाउँपालिका ३,२०५ ९७१ २२१६
३ सुवर्ण गाउँपालिका ४,००१ १,६७३ २३१८
४ पचरौता नगरपालिका ५,१५८ ११०६ ४०४१
५ विश्रामपुर गाउँपालिका ३,४८१ १,५४२ १९२६
६ करैयामाई गाउँपालिका ३,७९८ ३२३ ३४६४
७ बारागढी गाउँपालिका ४,०७९ ९७७ ३०९०
८ फेटा गाउँपालिका ३,५३२ १,१०२ २३८५
९ कोल्हवी नगरपालिका ८,५३३ २,८४३ ५६७७
१० देवताल गाउँपालिका ३,२७१ ४५६ २७७५
११ परवानीपुर गाउँपालिका ३,०५६ ८९६ २१४६
१२ सिम्रौनगढ नगरपालिका ७,४५८ २,३०१ ५१२९
१३ महागढीमाई नगरपालिका ६,२३६ २,९१ ५२३५
१४ आदर्शकोतवाल गाउँपालिका ४,२०२ ७६१ ३४२४
१५ कलैया उ.म.न.पा. १७,१०९ ७,१०५ ९८५०
१६ जितपुरसिमरा उपमहा न.पा. १८,८८४ १००८३ ६८३
जम्मा बारा १,०५,०१५ ३९,१३२ ६५,३५४
चर्पीको पहुँचमा वार्षिक कभरेज
१ २०७० सालमा २६ प्रतिशत
२ २०७१ सालमा २९ प्रतिशत
३ २०७२ सालमा ४२ प्रतिशत
४ २०७३ सालमा ६४ प्रतिशत
५ २०७४ सालमा ७१ प्रतिशत
६ २०७५ सालमा ९२ प्रतिशत
७ २०७६ सालमा १०० प्रतिशत
कुन स्थानीय तह कहिले खुल्ला दिसामुक्त घोषणा भएको थियो ?
स्थानीय तहको नाम ओडिएफ घोषणा मिति
१ निजगढ नगरपालिका २०७२ फाल्गुन ३ गते घोषणा सम्पन्न
२ प्रसौनी गाउँपालिका २०७५ बैशाख २४ गते घोषणा सम्पन्न
३ सुवर्ण गाउँपालिका २०७६ असार २९ गते घोषणा सम्पन्न
४ पचरौता नगरपालिका २०७६ श्रावण २८ गते घोषणा सम्पन्न
५ विश्रामपुर गाउँपालिका २०७६ भदौ ७ गते घोषणा सम्पन्न
६ करैयामाई गाउँपालिका २०७६ भदौ १० गते घोषणा सम्पन्न
७ बारागढी गाउँपालिका २०७६ भदौ ११ गते घोषणा सम्पन्न
८ फेटा गाउँपालिका २०७६ भदौ १५ गते घोषणा सम्पन्न
९ कोल्हवी नगरपालिका २०७६ भदौ २० गते घोषणा सम्पन्न
१० देवताल गाउँपालिका २०७६ भदौ २१ गते घोषणा सम्पन्न
११ परवानीपुर गाउँपालिका २०७६ भदौ २३ गते घोषणा सम्पन्न
१२ सिम्रौनगढ नगरपालिका २०७६ भदौ २३ गते घोषणा सम्पन्न
१३ महागढीमाई नगरपालिका २०७६ भदौ २४ गते घोषणा सम्पन्न
१४ आदर्शकोतवाल गाउँपालिका २०७६ भदौ २४ गते घोषणा सम्पन्न
१५ कलैया उ.म.न.पा. २०७६ भदौ २५ गते घोषणा सम्पन्न
१६ जितपुरसिमरा उपमहा न.पा. २०७६ भदौ २५ गते घोषणा सम्पन्न
बारा जिल्ला २०७६ भदौ २७ गते घोषणा सम्पन्न
अभियानका मुुख्य चुुनौती, समाधान र अगामी रणनीति
सरसफाइ अभियानलाई व्यवस्थित एवं सार्थक तुल्याउन रणनीतिक योजनाको महसुस गरी सन् २०११ मा सरसफाइ गुरुयोजना आयो । गुरुयोजनाको बनेको तीन बर्षपछि मात्र २०१४ देखि बारा जिल्लामा सरसफाइ अभियान सुरु भएको थियो ।
सन् २०१४ देखि २०१९ को हालसम्म अभियानको क्रममा विभिन्न उतारचढाव र बाधा, अवरोध एवं समस्या र चुनौतीको सामना गर्दै सरसफाइ अभियानको पहिलो चरण पार भएको छ । जिल्लामा अभियानले गति लिएकै बेला समय समयमा आएको प्राकृतिक विपद, बाढी भूकम्प, टोर्नाडो हावाहुरी, तराई मधेश आन्दोलन एवं भारतको नाकाबन्दी लगायतले समस्या थपे पनि त्यसलाई चिर्दै अभियानलाई सफलता दिलाउनु महान उपलब्धी हो ।

अब जिल्लामा अभियानको वर्तमानको मुुख्य चुुनौतीको रुपमा खुुल्ला दिसामुक्त अवस्थालाई दिगोपना दिनु नै हो । खुल्ला दिसामुक्त अवस्थालाई दिगोपना दिदैं पूर्ण सरसफाइको माध्यमले मानिसका सरसफाइ सम्बन्धी सम्पूूर्ण आनीबानी व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्नु नै हो ।
यसका लागि पूूर्ण सरसफाइको बाटो तिर अघि बढ्नुुको विकल्प छैन । बारा जिल्लाले यस चुुनौतीको चिरफार गरी पूूर्ण सरसफाइमा सबैको पहुुँच विस्तार गर्न रणनीतिक योजना पनि बनाएको डिवाससीसीले जनाएको छ ।


1807 पटक हेरिएको 



