काठमाडौ : नेपाल खुला दिसामुक्त समारोहमा ७५३ वटै स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने भएको छ । समारोहमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका प्रमुख र सदस्य सचिव सहित २ जना, नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्षहरुलाई सहभागिताका लागि पत्राचार गरिदिन खानेपानीमन्त्री मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिसकेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई मंगलबार खानेपानी मन्त्रालयले लेखेको पत्रमा भनिएको छ ‘सरसफाइ गुरुयोजना २०६८ को मर्म अनुसार समुदाय तथा सरोकारवालाहरुको ८ बर्षको अनवरत प्रयास तथा जनताको लगानीबाट नेपालमा ७५३ स्थानीय तह र ७७ जिल्ला विधिवत रुपमा खुला दिसामुक्त घोषणा भएका छन् । अतः असोज १३ गते राष्ट्रलाई खुला दिसामुक्त घोषणा गरी पूर्ण सरसफाइ तर्फ सक्रिय रहने उद्देश्य सहित घोषणा समारोहको आयोजना गरिएको छ ।’
असोज १३ गते राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुने ‘खुला दिसामुक्त नेपाल समारोह’ दुई शत्रमा विभाजन गरी सञ्चालन गरिने भएको छ । पहिलो शत्रको नेपालमा चलेको सरसफाइ आन्दोलन र खुला दिसामुक्त घोषणा सम्मको यात्रालाई समेटेर तयार पारिएको डुकमेन्ट्री प्रदर्शन, विविध जातजातिको भेषभुषालाई गीतको लय तथा शब्दसँग सुहाउँदो समिश्रण गरी सांस्कृतिक कार्यक्रम प्रदर्शन एवं खुला दिसामुक्त अभियान र अहिलेसम्मको उपलब्धीलाई नाटकको माध्यमबाट समेत प्रदर्शन गरिने खुला दिसामुक्त नेपालको सचिवालयले जनाएको छ ।


1295 पटक हेरिएको 

