फोहर व्यवस्थापनका लागि खाली जमिन खोजिँदै

 

रूपन्देही : तिलोत्तमा नगरपालिकाले दिगो फोहर व्यवस्थापनका लागि खाली जग्गा खोजिरहेको छ । नगरपालिकाले यस वर्ष सरसफाइ केन्द्र निर्माण र फोहर व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरेको थियो । स्थान पाउने बित्तिकै निर्माण थालनी गर्ने तयारीमा रहेको वातावरण शाखा प्रमुख गिरिराज डुम्रेले बताए ।

हाल नगरको १ र २ वडाको फोहर शंकरनगर सामुदायिक वनपछाडि रहेको फायरलाइनमा, ३ र ४ वडाको डिंगरनगरमा, ५ र ६ वडाको हरपुरमा र ७, ८ र ९ वडाको करहियामा फाल्ने काम भइरहेको छ । सैनामैना नगरपालिकाले स्थायी ल्यान्डफिल्ड साइट निर्माण गर्ने गरी डीपीआर तयार गरिसकेको छ । प्रदेश मन्त्रिपरिषद्ले निर्णय गर्न ढिलाइ गरेका कारण काम सुरु गर्न समस्या भएको नगरका वातावरण शाखा प्रमुख जोगराज घिमिरेले बताए । ५० लाख रुपैयाँबाट सुरु काम अघि बढाउन प्रदेश सरकारसँग रकम माग्ने र कुनै परियोजनामार्फत काम गर्ने गरी योजना र छलफल चलिरहेको छ । अहिले वडा ९ मा प्राकृतिक खाडल रहेकाले त्यहीं फोहर व्यवस्थापन भइरहेको खबर कान्तिपुर दैनिकले छापेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका सहरी क्षेत्र नभए पनि पर्यटकको आगमन र केही क्षेत्र बजार पर्ने भएकाले ती क्षेत्रमा बढी फोहर निस्कने गर्छ । उक्त फोहर व्यवस्थापनका लागि वडा ११ मा महादेवा गाउँदेखि उत्तरतर्फ खाल्डो रहेको सरकारी जग्गामा ल्यान्डफिल्ड साइट बनाउने योजना बनाइएको नगर इन्जिनियर राजेश कहारले बताए । नजिकै बासस्थान नभए पनि केही व्यक्तिले काम गर्न नदिएकाले अहिले काम रोकिएको उनले सुनाए । देवदह नगरपालिकामा आउँदो वर्षबाट कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापनको काम गरिने नगर प्रमुख हीराबहादुर खत्रीले बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार