जनकपुरधाम : मिथिलावासीहरुको महान पर्व छठ र नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्दै पर्यटनमन्त्री योगेश भट्टराई र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा आज बिहान जनकपुरका विभिन्न मठ मन्दिर, तात तलैया, घाट सरसफाइ तथा सचेतना कार्यक्रम गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिले हिजो (बुधबार) छठ पर्व तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा जनकपुरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान कार्यक्रमम भाग लिन पर्यटनमन्त्री भट्टराई जनकपुर पुग्नुभएको थियो ।
जनकपुरमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले वर्षमा ५० लाख पर्यटकका लागि भौतिक पूर्वाधार पर्याप्त नरहेको बताउनुभयो । उहाँले यसका लागि पर्यटन व्यवसायीसँग छिट्टै छलफल गरी नयाँ कार्ययोजना बनाएर अघि बढ्ने समेत बताउनुभयो । ‘२०२० भ्रमण वर्षको थालनीमात्र हो । यो एक दशकसम्म मनाउने हाम्रो रणनीति छ,’ मन्त्री भट्टराईले भन्नुभयो ‘एक प्रदेशलाई अर्को प्रदेशसँग समन्वय र सहकार्य गरी जोड्नुपर्छ । विभिन्न स्थललाई विभिन्न प्रदेशसँग जोड्ने गरी प्रदेश सर्किटको रूपमा जोड्नुपर्ने आवश्यकता छ ।’
प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले प्रदेश २ मा संघीय सरकारले पर्यटन वर्ष मनाउन देखाएको तदारुकता स्वागत योग्य रहे पनि यसको लागि पर्यटन क्षेत्रका कर्मचारी नरहेको गुनासो गर्नुभयो ।