दाङ : दाङ जिल्लालाई पूर्ण सरसफाइ बनाउने गरी सञ्चालन गरिएको अभियान अहिले ठप्प जस्तै छ । देश नै खुला दिसामुक्त घोषणा भएपछि गाउँ गाउँमा पूर्ण सरसफाइ अभियान केन्द्रित कार्यक्रमहरु सञ्चालन हुनुपर्ने भएपनि दाङको बजारी क्षेत्रमा केही सरसफाइ अभियान बाहेक ग्रामीण क्षेत्रमा कुनै पनि कार्यक्रम सञ्चालन हुन सकेका छैनन् ।
गाउँमा खुल्ला दिसामुक्त अभियानको समयमा निर्माण गरिएका शौचालय समेत भत्कन थालेका छन् । ग्रामीण स्तरमा पानीको समस्या देखाउँदै शौचालयसमेत प्रयोगविहीन भएका हुन् । यसको निगरानी समेत हुन सकेको छैन । निगरानी नहुदा कतिपय स्थानमा शौचालयमा गुइँठा, दाउरा, तथा अन्य सामग्री राख्ने गरिएको छ । नया संरचना भएपछि वडामा रहेका खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिसमेत अन्योलमा छन् । वडाहरु मिसिएपछि समितिको पुनर्गठनसमेत हुनसकेको छैन ।
घोराही उपमहानगरपालिका साविक वडा नम्बर ६ खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका एक सदस्यले पूर्ण सरसफाइ अभियान कसरी अगाडि बढाउने भन्ने बारे कुनै जानकारी नआएको बताउनुभयो । ती सदस्यका अनुसार दुईवटा वडा एउटै भए पनि समिति समेत गठन हुन सकेको छैन ।
यस बारेमा स्थानीय निकायमा जानकारी गराए पनि त्यसको कुनै जानकारी नआएको उहाँले बताउनुभयो । “हामीले खुल्ला दिसामुक्त अभियान सफल बनाएका हौ जिम्मेवारी दिए पूर्ण सरसफाइ अभियान पनि सफल बनाउने छौ ,” ती सदस्यले भन्नुभयो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले अहिले जिल्लामा पूर्ण सरसफाइ सम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन नभएको जनाएको छ । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति फोकल पर्सन तथा कार्यालयका इन्जिनियरले छिटै स्थानीय तहका प्रमुखसँग छलफल गरेर अगाडि बढने बताउनुभयो ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पूर्ण सुरसफाइ अभियानकै रूपमा अगाडि बढन नसकेको बताउनुभयो । उहाँका अनुसार वडा वडामा अध्यक्षहरूले अभियान सञ्चालन गरी राखेका छन् । “सहरमा सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ तर पूर्ण सरसफाइ अभियानकै रूपमा अगाडि बढन भने सकेको छैन,” प्रमुख चौधरीले भन्नुभयो । पूर्ण सरसफाइ अभियानलाई उपमहानगरपालिकाले योजना बनाएर अगाडि बढने प्रमुख चौधरीको भनाइ छ ।
घोराहीसँगै जिल्लाका अन्य बजारी क्षेत्रमा सरसफाइ अभियान सञ्चालन हुँदै आएका छन् । जिल्लालाई सन् २०२० सम्म पूर्ण सरसफाइ जिल्ला घोषणा गरिने गरी योजना निर्माण गरिएको थियो ।


969 पटक हेरिएको 

