
सिरहा : सिरहाको नरहा गाउँपालिका – ५ तिलकपुरमा अति विपन्न मुसहर जातिको बसोबास छ । एक बर्ष अघि हरेकको घरमा शौचालय भएको मुसहर बस्तीमा अहिले शौचालयको अवशेष मात्र बाँकी छ । सिरहालाई खुला दिसामुक्त घोषणा गर्ने बेला वडा कार्यालय र केही गैरसरकारी संस्थाले मुसहर परिवारलाई चर्पी बनाई दिएपनि चर्पीको महत्व बुझाउन नसक्दा ती प्रयोग नभई भत्किएका छन् ।
मुसहर गाउँमा बनेका शौचालयको छानो भत्किएपछि जमीनको सतहसम्म बनाएको पक्की शौचालयको प्यान सेट सम्म कतै कतै देख्न सकिन्छ । कतिपयको घरले त प्यान सेट समेत कहाँ पु¥यायो भन्ने ठेगान छैन ।
खुला दिसामुक्त सिरहा घोषणाका लागि भुँईसम्म पक्की संरचना हालेपनि बाँसको बार लगाएर बनाएकाले भत्किएको नरहा गाउँपालिका अध्यक्ष रामशरण यादवले बताउनुभयो । ‘त्यसवेला बाँसको बार लगाएर अस्थायी किसिमको बनाईएको थियो । केही गैरसरकारी संस्थाले बनाउने भनेपछि हामीले चर्पीको लागि बजेट विनियोजन गरेनौँ, आउँदो वर्ष शौचालय बनाउन र सचेतना अभिबृद्धिको लागि रकम विनियोजन गर्छौ’ उहाँले भन्नुभयो ।
सिरहालाई अठचालीसौं जिल्लाको रुपमा २०७४ साल चैत्र ९ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।


999 पटक हेरिएको 

