
बुटवल : लैंगिक आधारमा विद्यालयमा हुने भेदभाव अन्त्य गर्न स्कुलका हरेक संरचनालाई छात्रछात्रामैत्री बनाईने भएको छ । छात्रछात्रा बीच समान सिकाइको वातावरण बनाउन बुटवलका स्कुलहरुमा छात्रछात्रामैत्री संरचना निर्माण गर्न थालिएको हो ।
कतिपय विद्यालयमा छात्रले छात्रालाई नभई शिक्षकले नै छात्राहरुलाई यौन हिंसा एवं दुव्र्यवहार गर्ने गरेकाले त्यसलाई रोक्न पनि छात्रछात्रामैत्री स्कुलको अवधारणा ल्याईएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । ‘कतिपय शिक्षकहरुले नै जिस्क्याउने, संवेदनशील अंग छुने, हेर्ने र यौन दुर्व्यवहार समेत गर्ने घटना भएकाले त्यसलाई रोक्न लैंगिकमैत्री विद्यालयको अवधारणा ल्याइएको हो’ उहाँले भन्नुभयो ‘विभिन्न अध्ययनले किशोरी उमेरलाई लैंगिक हिंसा अधिक हुने उमेर समूह पुष्टि गरेको छ ।’ ‘विद्यालयलाई नै छात्रछात्रामैत्री बनाउँदा लैंगिक हिंसा हटाउन र छात्राको सिकाइ उपलब्धि बढाउन सकिने उहाँले बताउनुभयो ।
स्कुललाई लैंगिकमैत्री बनाउन सबै विद्यालयमा तत्काल छात्रछात्राको छुट्टाछुट्टै शौचालय बनाउन र छात्रा शौचालयमा सेनेटरी प्याड व्यवस्थापन गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ । ‘लैंगिक रूपमा कसैलाई बलवान् र कसैलाई कमजोर हुने शब्द प्रयोग नगरौं । केटा बलिया र केटी कमजोर हुन्छन् भन्ने उदाहरण नदिऔं । आमाले भात पकाउनुहुन्छ र बाबा अफिस जानुहुन्छ भन्ने उदाहरण नदिऔं,’ उपमहानगरको सामाजिक महाशाखा प्रमुख तुल्सा शर्माले आग्रह गर्नुभयो । उहाँले पाठ्यक्रममा भएका लैंगिक विभेदपूर्ण शब्दलाई चिनो लगाएर सुधारेर पढाउन समेत आग्रह गर्नुभयो ।
उपमहानगर भित्रका विद्यालयलाई लैगिकमैत्री बनाउन उपमहानगरपालिकाले हालै आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यापकले छात्राको सिकाइ उपलब्धि बढाउन कक्षाकोठामा छात्र र छात्राबीच समान व्यवहार र वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । विभिन्न अध्ययनले किशोरी उमेरमा प्रजनन अंगको विकास र तिनलाई समाधान गर्न नसक्दा देखिने मनोवैज्ञानिक असरले धेरै छात्राको सिकाइ उपलब्धि घट्ने र कक्षा छोड्ने देखिएको छ । त्यसमा शिक्षकबाटै हुने दुव्र्यवहार धेरै छन् ।
गुनासो सुनुवाइ कार्यविधि लागु गर्न निर्देशन
उपमहानगरपालिकाले विद्यालयका प्रधानाध्यापक र सरोकारवालालाई गुनासो सुनुवाइ कार्यविधि अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ । सरकारले विद्यालयलाई लैंगिकमैत्री बनाउन गुनासो सुनुवाइ कार्यविधि २०७४ जारी गरिसकेको छ । कार्यविधि अनुसार हरेक विद्यालयमा गुनासो पेटिका अनिवार्य गरिएको छ । विद्यार्थीले राखेका गुनासो सुनुवाइ गरी विद्यालयले तिनलाई समाधान गर्ने योजना बनाउने र उपमहानगरलाई बुझाउनुपर्नेछ ।
मौखिक गुनासो सुन्न गुनासो सुन्ने अधिकारी र लैंगिक विषय सम्बोधन गर्न लैंगिक सम्पर्क व्यक्ति तोकिनेछ । लैंगिक सम्पर्क व्यक्तिले तत्काल शिक्षक–विद्यार्थी एवं विद्यार्थी–विद्यार्थीबीच हुने लैंगिक भेदभाव र दुव्र्यवहारको गुनासा सुन्ने एवं त्यसलाई सम्बोधन गर्न पहल गर्नेछन् ।
गुनासो सुन्ने अधिकारीले विद्यालयको शैक्षिक वातावरण, अतिरिक्त क्रियाकलाप, शिक्षकको सिकाइ विधि, कक्षामा उपस्थिति, कक्षाकोठा व्यवस्थापन, शौचालय, खानेपानी लगायत समस्याका गुनासा हेर्ने र सुन्नेछन् ।
आफूलाई हुने समस्या तत्काल राख्न र सम्बोधन हुन सके विद्यार्थीको बीचमै कक्षा छोड्ने दर घट्ने तथा विद्यालयमा उपस्थिति दर र सिकाइ उपलब्धि बढ्ने उपमहानगरका शिक्षा शाखा प्रमुख मित्रमणी खनालले बताउनुभयो । उपमहानगरमा सामुदायिक र संस्थागत गरी ५७ विद्यालय छन् ।


716 पटक हेरिएको 

