
कैलाली : दुई बर्ष अघि कैलालीको गौरीगंगा नगरपालिका वडा नं. १ पछ्लापुरकी नरुदेबी बिकको छाउगोठमा सुतेकै बेला सर्पको टोकाईबाट मृत्यु भयो । पछ्लापुरकै माता भुललाई पनि बर्षौ पहिले सर्पले टोकेको थियो । तर समयमै उपचार पाएर उहाँले मृत्युवरण गर्नुपरेन । छाउगोठमा सुतेको समयमा कति पटक चोर र बलात्कारीसँग झगडा गरेर बचियो भन्ने भनी साध्य छैन, उहाँको जीवनमा ।
पछ्लापुरकी माता भुलले महिनावारी हुँदा छाउगोठमै बसेर जीवन कटाउनुभयो । जब महिनावारी बन्द भयो तब मात्र घरभित्र सुत्न पाउनुभयो । ती कष्टकर दिनहरु आफ्नो छोरी बुहारीको जीवनमा भने नदोहोरियोस् भनेर उहाँले अहिले छाउगोठ भत्काउनुभएको छ । १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत उहाँ आफैले स्वतःस्फूर्त रुपमा छाउगोठ भत्काउनु भएको हो ।
अभियानमा जनप्रतिनिधि पुग्दा पछ्लापुरका महिलाहरुले छाउगोठमा बस्दा आफूहरुले भोगेका पीडा सुनाएका थिए । महिनावारी सम्बन्धी गलत धारणा बारे आफैले बुझेपछि महिलाहरुले जनप्रतिनिधिकै अगाडि छाउगोठ भत्काएका हुन् ।
‘मैले त धेरै दुःख पाएँ अब मेरा छोरी बुहारीले त्यो दुःख भोग्न नपरोस्’ माता भूलले भन्नुभयो ‘मलाई छाउपडी गोठ भत्काउन मन लागे पनि देवता रिसाउछन् कि भन्ने डर लाग्थ्यो, तपाईहरुको आँट भरोसा पाएपछि मैले आज यो छाउगोठ भत्काउन सकें ।’
पछ्लापुरमा करिब डेढ सय घरपरिवारको बसोबास छ । ती मध्ये धेरैले छाउगोठ भत्काईसकेका छन् । छाउगोठ भत्काएपछि रम्भा भुलल भन्नुभयो ‘छाउगोठमा छोरीबुहारी सुताउने रहर नभए पनि घरमा सुत्दा देवता रिसाउने र विरामी हुने डरले भत्काउन सकेको थिएन, अब छोरीबुहारीलाई घरमै सुताउँछु ।’
गौरीगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले नगरपालिका भरि सबैभन्दा बढी छाउप्रथा मान्ने गाउँ पछ्लापुर रहेकोले सोही गाउँबाट अभियान चलाइएको बताउनुभयो । छाउगोठमा सुत्दा सर्पको टोकाईबाट ज्यानै जानुको साथै, चोर बलात्कारको सिकार समेत हुने भएकाले छाउपडीका बारेमा गाउँका महिलाहरुलाई सचेत बनाउँदै आफैले छाउगोठ हटाउने अभियान चलाईएको बताउनुभयो ।
उपप्रमुख चौधरीले नगरपालिकामा ९४ प्रतिशत महिला हिंसा सहन बाध्य भएको र छाउपडीप्रथा पनि महिला हिंसाकै कारक भएको बताउनुभयो ।
सुदुरपश्चिमका पहाडी जिल्लाबाट बसाई सरेर तराईमा बसोबास गरेका दलित तथा शिक्षित समुदायमा छाउपडी प्रथा कायमै रहेको देखिएको छ । उनीहरुमा व्यापक जनचेतनात्मक अभियान सञ्चालन गर्नुपर्ने खाँचो देखिएको उपप्रमुख चौधरीले बताउनुभयो ।


1051 पटक हेरिएको 

