काठमाडौ : फोहोरलाई व्यवस्थापन गर्न स्रोतमै नियन्त्रण गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् । फोहोर व्यवस्थापनको काम कठिन हुने भएकाले फोहोर उत्पादनमा कमी ल्याए मात्र व्यवस्थापन गर्न सजिलो हुने वैज्ञानिकले बताएका हुन् ।
काठमाडौमा दुई दिनसम्म चलेको फोहोरमैला व्यवस्थापन राष्ट्रिय सम्मेलनमा विज्ञहरुले फोहोर व्यवस्थापनको उचित पाटो नै फोहोरको नियन्त्रण र पुनःप्रयोग रहेकोमा जोड दिए । उनीहरुले फोहोरमैला व्यवस्थापनका लागि प्रविधिको स्तरोन्नति, उत्पादनमा नियन्त्रण, पुनःप्रयोग जस्ता विधिलाई अपनाउन सुझाव दिएका छन् ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष समेत रहेका वातवरणविद् नवराज खतिवडाले उत्पादनमा नियन्त्रण गर्नुपर्ने बताउनुभयो । यस्तै नाष्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले फोहोरमैला व्यवस्थापनका लागि सबै क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउँदै फोहोरबाट ऊर्जा उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
पूर्व वातावरणमन्त्री गणेश शाहले फोहोरमैलाको व्यवस्थापनका लागि उत्पादनमा कमी र सबै क्षेत्र जागरुक हुनुपर्ने बताउनुभयो यस्तै फोहोरमैला व्यवस्थापन संघका केन्द्रीय अध्यक्ष धनप्रसाद आचार्यले मुलुकको नगर क्षेत्रको फोहोर व्यवस्थापनमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै फोहोर व्यवस्थापनमा सबै गम्भिर हुनुपर्ने बताउनुभयो । खेर गएका फोहोरबाट ऊर्जा उत्पादन गर्न सकिने सम्बन्धि अनुसन्धान गर्दै आएका अनुसन्धानकर्ता हैकम घिसिङले ऊर्जा उत्पादनसँगै आम्दानी समेत गर्न सकिने जानकारी दिनुभयो ।
१० प्राविधिक सत्रमा चलेको सम्मेलनमा फोहोरमैलाको विद्यमान अवस्था, जलवायु अनुकुलन, फोहोरबाट ऊर्जा, विद्युतिय जैविक फोहोर, उदयमान मुद्दा, स्रोत पुनरावृत्ति, क्रसकटिङ मुद्दा, निजी क्षेत्रको प्रयास लगायतका विषयहरुमा प्रस्तुतीकरण गरिएको थियो ।
‘‘फोहोरमैला व्यवस्थापन, हामी सबैको प्राथमिकता’ भन्ने नाराको साथ आयोजना गरिएको सम्मेलनमा फोहोरमैला व्यवस्थापमा विद्यमान नीति, समस्या, समाधान र अवसरहरुबारे चर्चा गरिएको थियो।