हलेसी क्षेत्र पम्पिङ खानेपानी : समय सकिनै लाग्दा २० प्रतिशत मात्र काम

 

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित हलेसी क्षेत्र बृहत् पम्पिङ खानेपानी आयोजनाको निर्धारित समय सकिन १५ दिन मात्र बाँकी छ । २०७४ असार २१ गते भएको ठेक्का सम्झौतामा यही पुस १७ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने उल्लेख थियो । तर सम्पन्न गर्नुपर्ने मिति नजिकिदै गर्दा आयोजनाको २० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङका इन्जिनियर माधवेन्द्र चौधरीका अनुसार आयोजनाको प्रगति १५ देखि २० प्रतिशत मात्र पूरा भएको छ ।

दिवा–महादेव खिम्ती जेभीले ठेक्का लिएको दूधकोसीको पानी हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर २, डिकुवाको भुम्जुडाँडा र वडा नम्बर ७, महादेवस्थानको काभ्रेडाँडामा ल्याउने मुख्य कामको प्रगति करिब पाँच प्रतिशत मात्र रहेको छ । निर्माण कम्पनीले ३१ करोड ७५ लाख रूपैयाँ लगानीमा दूधकोसीबाट काभ्रेडाँडा र लुलिमाबाट भुम्जुडाँडामा पानी ल्याउन नदी किनारमा सम्पवेल, महादेवबेसीदेखि काभ्रेडाँडा र लुलिमादेखि भुम्जुडाँडा बीचमा ६–६ वटा लिफ्ट ट्यांकी, ६–६ किलोमिटर पाइपलाइन, विद्युतीकरण, ट्रान्सफर्मर जडान लगायत कामको ठेक्का लिएको थियो ।

यस्तै भुम्जुडाँडा र काभ्रेडाँडामा ३–३ लाख लिटरका चारवटा रिजर्भ्वायर ट्यांकी निर्माण गर्नुपर्छ । १५ दिन मात्र समय बाँकी रहँदा महादेवबेसीमा सम्पवेल र नजिकैको ट्यांकी निर्माण पूरा भएको छैन । महादेवबेसी र काभ्रेडाँडाको ६ किलोमिटर मध्ये करिब २५ सय मिटर पाइप जडान गरिएको छ ।

लुलिमाबाट भुम्जुडाँडाको ६ किलोमिटर मध्ये तीन किलोमिटर पाइपलाइनको काम पूरा गरिएको दिवा–महादेव खिम्तीका इन्जिनियर गोविन्द झाले बताउनुभयो । आयोजनाको काममा ढिलो हुँदा पनि दिवा–महादेवका डाइरेक्टर रवि सिंह निर्माणस्थलमा नआउने गरेको कामदारले बताएका छन् ।

यो आयोजना सम्पन्न भएपछि सातवटा वडाका तीन हजार सात सय भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् ।

वितरण लाइनको प्रगति ३ प्रतिशत मात्र

दुधकोशीको पानीलाई लिफ्टिङ गरी महादेवस्थानको काभ्रेडाँडामा ल्याएपछि ७३ वटा आरभिटी ट्यांकी निर्माण गरी एक सय ७७ किलोमिटर वितरण पाइपलाइन मार्फत उपभोक्ताको घर घरमा वितरण गर्नुपर्नेछ । तर उक्त कार्यको ठेक्का लिएको लामा कन्सट्रक्सन र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले अहिलेसम्म ७३ वटा आरभिटी ट्यांकी मध्ये ६ वटा मात्रै निर्माण गरेका छन् ।

यस्तै १ सय ७७ किलोमिटर पाइपलाइन मध्ये अहिलेसम्म १६ किलोमिटर मात्र विछ्याईसकेको छ । संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाका अनुसार यो प्रगति करिब तीन प्रतिशत मात्रै हो ।

२०७५ असार ३१ मा भएको ठेक्का सम्झौता अनुसार काभ्रेडाँडामा ल्याएको पानी २०७७ असार ३० गतेसम्म महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गरिसक्नु पर्नेछ । २६ करोड ७५ लाखको यो काम आवश्यक निर्माण सामग्री आइसकेकाले तोकिएको समयमै सम्पन्न हुने रमन सगरमाथा जेभीका साइड इन्चार्ज रामभक्त मास्केले बताउनुभयो ।

वितरण लाईन – २ को प्रगति १५ प्रतिशत

भुम्जुडाँडाको पानी बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार र बडहरेमा पानी वितरण गर्न ३७ करोड ९३ लाखमा लिएको ठेक्काको काम करिब १५ प्रतिशत सम्पन्न भएको छ ।

ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका अनुसार एक सय २२ वटा ट्यांकी मध्ये १२ वटा निर्माणाधीन अवस्थामा छन् । यस्तै तीन सय किलोमिटर पाइप लाइन मध्ये ४० किलोमिटर पूरा भएको छ । २०७५ असार ३१ मा भएको ठेक्का सम्झौता अनुसार लामा कन्सट्रक्सनले २०७७ असार ३० गतेसम्ममा काम सम्पन्न गरी खानेपानी वितरण गरिसक्नुपर्नेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार