
काठमाडौ : काठमाडौको गुहेश्वरीमा निर्माण भईरहेको ढल प्रशोधन केन्द्र सञ्चालनका लागि विद्युत महसुल मात्र बार्षिक १५ करोड रुपैयाँ खर्च हुने भएको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक भोज विक्रम थापाले ढल प्रशोधन केन्द्र सञ्चालन गर्न आर्थिक हिसाबले एकदमै खर्चालु हुने बताउनुभयो ।
खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रममा उहाँले खानेपानी तथा ढल व्यवस्थापन सेवा अति आवश्यकीय सेवा भएकाले जत्तिसुकै खर्च लागेपनि यसको सञ्चालन गर्नुपर्ने राज्यको दायित्व भएको बताउनुभयो । ‘विजुलीको मात्र १५ करोड लाग्ने भएपछि अब मानव संसाधन, प्रशासनिक खर्च गर्दा कति पुग्छ ? तर खर्चालु हुने भयो भनेर सञ्चालन नगर्ने भन्ने कुरा आउँदैन, खानेपानी एवं ढल व्यवस्थापन सेवा अति आवश्यकीय सेवा भएकाले जुनसुकै हालतमा राज्यले आपूर्ति गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि पशुपति क्षेत्र हुँदै बग्ने वाग्मती नदीमा सफा पानी बग्नेछ । उक्त प्रशोधन केन्द्रमा गोकर्णदेखि गुहेश्वरीसम्मको ढल जोडिनेछ । ढललाई प्रशोधन केन्द्रमा पुर्याएर विभिन्न चरणमा प्रशोधन गरिनेछ । प्रशोधनका क्रममा गुहेश्वरी ढल प्रशोधन केन्द्रबाट ३२० किलोवाट बिजुली निकाल्ने योजना बनाएको छ ।
गुहेश्वरीमा दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने प्लान्ट बनेको छ । २ अर्ब ५५ करोड रुपैयाँ लागतमा भारतीय कम्पनी भा टेक वाबाग लिमिटेडले फोहोरपानी प्रशोधन केन्द्र निर्माणको काम गरिररहेको छ ।


1276 पटक हेरिएको 

