काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई आयकर नलाग्ने भएको छ । नेपाल सरकार मन्त्री स्तरको निर्णयबाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई आयकर छुट दिने भएको हो । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई आयकरमा छुट दिने व्यवस्था गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले विगत देखि नै माग गर्दै आएको थियो । फेडवासनको माग एवं यस सम्बन्धी वकालतलाई सुनुवाई गर्दै खानेपानी मन्त्रालयले आयकर ऐन २०५८ को दफा २ (ध) र आयकर नियमावली २०५९ को नियम ३ बमोजिम आयकर छुट दिने निर्णय गरिएको हो ।
मन्त्रालयले आयकर छुटको लागि आन्तरिक राजश्व विभागलाई निर्देशन दिन अर्थमन्त्रालय समक्ष अनुरोध गरेको थियो । अर्थले समेत आन्तरिक राजश्व विभागलाई निर्णय कार्यान्वनका लागि परिपत्र गरिसकेको अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाका शाखाका अधिकृत जीवनाथ ज्ञवालीले जानकारी दिनुभयो ।
राजश्व व्यवस्थापन महाशाखाले यही पुस ७ गते आन्तरिक राजश्व विभागलाई लेखेको पत्रमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई आयकर छुट पाउने संस्थाको रुपमा मान्यता प्रदान गर्न अनुरोध भए बमोजिम कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।