काठमाडौ : सडक तथा ढल निर्माणको कामबाट मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइपमा क्षति पुगेको छ । विकास निर्माणको काममा समन्वय अभावमा सडक निर्माण र ढल निर्माणको काम गर्दा मेलम्ची खानेपानीको करिब १६ करोड रुपैयाँ नोक्सान भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी प्रमुख भोजविक्रम थापाले जानकारी दिनुभयो ।
निर्देशनालयका अनुसार कलंकी–कोटेश्वर सडक निर्माणको क्रममा ९ सय ७० मिटर, काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा ३० किलोमिटरभन्दा बढी धेरै पाइपमा क्षति पुगेको छ । कार्यकारी प्रमुख थापाले चक्रपथ सडक सुधार योजना, सडक विभाग, ढल विभाग, सडक डिभिजन कार्यालय र स्थानीय तहले सडक तथा ढल निर्माण गर्दा मेलम्ची खानेपानी आयोजनाले बिछ्याई सकेको पाइपमा क्षति पुर्याएको बताउनुभयो ।
निर्देशनालयले पाटन क्षेत्रमा ३२ किलोमिटर क्षेत्रमा मात्रै पाइपलाइन विस्तारको काम बाँकी रहेको जनाएको छ । निर्देशनालयका अनुसार करिब २७ लाखभन्दा धेरै जनसंख्यामा मेलम्चीको खानेपानी पुग्नेछ । मेलम्ची खानेपानी उपआयोजना–१ ले मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन साथ काठमाडौ उपत्यकामा वितरण गर्ने तयारी गरेको निर्देशनालयका कार्यकारी प्रमुख थापाले जानकारी दिनुभयो ।