तमोर नदीको पानी कुम्मायक मन्दिरमा उक्लियो

पाँचथर : बर्षौदेखि खानेपानी समस्या भोगिरहेको पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर नदीको पानी लिफ्टिङ गरी वितरण गरिएको छ । तमोर नदीको लुमुघाटदेखि १७ किलोमिटर माथिको कुम्मायक मन्दिर छेउसम्म पानी लिफ्टिङ गरी वितरण गर्न सुरु गरिएको हो ।

तमोरको पानी सातवटा स्टेसनमा लिफ्टिङ गरी वितरण गर्न थालेपछि सधैंका लागि खानेपानी समस्या समाधान हुने भयो भन्दै स्थानीय बासिन्दा खुसी भएका छन् । आर्थिक वर्ष २०७२/०७३ बाट सुरु भएको आयोजनाबाट तीन हजार ४३ घरका १३ हजार दुई सय ६६ जना लाभान्वित हुनेछन् । यसका लागि दुई हजार ८० घरमा धारा जडान भइसकेको र बाँकी घर सहित मुख्य प्रसारण लाइनमा केही धारा जडान गर्ने प्रक्रिया जारी रहेको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका प्राविधिक ज्ञानु रिजालले खानेपानी अभावले बढिरहेको बसाइसराइ दर रोकिने तथा खानेपानीको सहज उपलब्ध भएपछि गाउँले खुसी भएको बताउनुभयो । सरकारले २०६८ सालमा साविकको यासोक, रानीगाउँ र स्याबरुम्बा गाविसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

‘तमोरको पानी गाउँमा आउँछ भन्दा सपना जस्तै लाग्थ्यो । यसरी खोलाको पानी बस्तीमा ल्याएर पिउन पाईएला भन्ने सोचेको कहाँ थियो र ? अहिले त घरमै पो आयो’ स्याबरुम्बाकी लक्ष्मी बुढाथोकीले भन्नुभयो ‘अब यतिकै पानी आए त चैन हुने भयो ।’ सरकारले सुख्खाग्रस्त घोषित गरेको यो क्षेत्रमा खानेपानी समस्याले सिर्जना गरेका अनेकौं समस्या छन् ।

आर्थिक वर्ष २०७२/०७३ बाट सुरु भएको यो आयोजनाको काम हाल अन्तिम चरणमा पुगेको छ । मुख्य प्रसारणलाइन (पम्पिङ) र वितरणका लागि केही काम भने बाँकी रहेको छ । बाँकी काम चाँडै सकिने निर्माण कम्पनीले जानकारी जनाएको छ । ‘नौलो किसिमको आयोजना भएकाले केही जटिलताहरू थिए । तर तमोरको पानी डाँडामा मात्र आएन । उपभोक्ताको घरमा पुगेको छ । यो खुसीको कुरा हो,’ निर्माण व्यवसायी लोकेन्द्र राजभण्डारीले भन्नुभयो । उहाँले बाँकी रहेको काम चाँडै पूरा गर्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार