बंगलाचुली गाउँपालिकामा पूर्ण सरसफाइ अभियानले गति लिदै


दाङ : बंगलाचुली गाउँपालिकाको वडा नं ८ ले पूर्ण सरसफाइ अभियानलाई तीब्रता दिएको छ । वडा अध्यक्ष गिरिराज बाठाको संयोजकत्वमा वडा कार्यालय लगायत २१ वटै टोलका सार्वजनिक स्थानहरुमा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत वडाले सार्वजनिक स्थानहरुमा सरसफाइ अपिल बोर्ड टाँस गरेको छ । बोर्डमा सफा र स्वच्छ क्षेत्र तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणाका लागि आवश्यक सूचकहरु उल्लेख गरिएको छ । वडा कार्यालयले आगामी डेढ बर्ष भित्र पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्न सार्वजनिक स्थानमा होर्डिङ बोर्ड टाँस, डस्टबिन बितरण, चेतनामूलक गतिबिधि समेत सञ्चालन गर्दै आएको छ ।

वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति वडा नं. ८ को अगुवाइमा प्रत्येक घरधुरीमा सरसफाइको अवस्था हेर्नको लागि घरधुरी भेटघाटलाई तीब्र पारिएको छ । वडाको सरसफाइको प्रगतिको अवस्था बुधबार बस्ने वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकमा समीक्षा गरी आगामी कार्ययोजना तयार गरिने वडा अध्यक्ष गिरिराज बाठाले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छताको क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीले सहजीकरण गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार