
काठमाडौ : सरकारले करिव ११ प्रतिशत जनसंख्याको आधारभूत खानेपानीमा पहुँच नपुगेको डाटा प्रस्तुत गर्दै आएपनि ती ११ प्रतिशत जनसंख्या कहाँ छन् ? भन्ने थाहा थिएन । सार्वजनिक कार्यक्रमहरुमै यो बिषयमा निक्कै चर्चा हुने गर्थ्यो । तर NWASH System सफ्टवेयर मार्फत डाटा संकलन गर्न थालेपछि यसले नतिजा देखाउन थालेको छ । सफ्टवेयरमा खानेपानीको पहुँच नपुगेको जनसंख्याको डाटा भर्नका लागि अनरिच पपुलेसन भनेर राखिएको छ ।
सफ्टवेयरको प्रयोग गरी हालसम्म २,२९,१८७ घरको डाटा संकलन गर्दा ७,१५५ जनर्सख्या अर्थात ६.८ प्रतिशतमा खानेपानीको पहुँच नपुगेको देखाएको छ । हालसम्म उक्त सफ्टवेयरको प्रयोग गरी ६ हजार १४८ वटा खानेपानी आयोजना, ७ हजार १६७ खानेपानीको स्रोत, १ लाख ७ हजार ८०७ वटा धारा र १३९ वटा नगरपालिकाको तथ्याङ्क संकलन गरिएको छ । तथ्याङ्क संकलित खानेपानीको स्रोत तथा आयोजनाले १३ लाख ४५ हजार ५० जनसंख्या र २ लाख २९ हजार १८७ घरपरिवारलाई समेटेको छ ।
हालसम्म संकलित तथ्याङ्क अनुसार ४७.७ प्रतिशत अर्थात ५० हजार ३८३ जनसंख्याले दैनिक आवश्यकता पूरा गर्न पुग्दो पानी पाएको, ३०.४ अर्थात ३२ हजार १०८ जनसंख्याले दैनिक पिउन, पकाउन, कपडा धुन पुगेको र १२.९ अर्थात १३ हजार ५७२ जनाले पिउनका लागि मात्र प्राप्त गरिरहेको देखिएको छ । यस्तै २.२ प्रतिशत अर्थात २ हजार ३४२ जनामा खानेपानी प्राप्त भए पनि पिउनकै लागि अपुग रहेको पाईएको छ ।
खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले सफ्टवेयरको माध्यमबाट तथ्याङ्क संकलन गर्दा तथ्यपरक डाटा आउने र यसले खानेपानी र सरसफाइ क्षेत्रको समग्र अवस्था पहिचान हुने भएकाले वास प्लान निर्माण गरी सोही अनुरुप काम गर्न सजिलो हुने बताउनुभयो ।


1725 पटक हेरिएको 

