३० देशको सहभागितामा अन्तर्राष्ट्रिय महिनावारी कार्यशाला हुने

काठमाडौ : सरकारले महिनावारी सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला गर्ने भएको छ । राष्ट्रिय मानवअधिकार आयोग र राधा पौडेल फाउन्डेसन सँगको सहकार्यमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आगामी जेठ १३ गतेदेखि १५ गतेसम्म कार्यशाला आयोजना गर्न लागेको हो । दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भ पारेर आयोजना गर्न लागेको कार्यशालामा सबै महादेशबाट गरी करिब ३० देशका सरकारी प्रतिनिधिसँगै यस विषयमा कार्यरत अभियन्ता तथा अनुसन्धानकर्मीहरु सहभागी हुनेछन् । कार्यशालाको मूल नारा ‘मर्यादित ‘महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा’ तय गरिएको छ ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमा महिनावारीका कारण महिलामाथि विभेद हुने अवस्था आउन नदिने बताउनुभयो। उहाँले सामाजिक कलंकको रुपमा रहेको छाउपडी प्रथाले नेपाललाई विश्व सामु लज्जित बनाएको बताउनुभयो । “अब नेपाल छाउपडी गोठको देश नभई मर्यादित महिनावारीको देश हो भन्ने बारेमा अन्तर्राष्ट्रिय स्तरमा सन्देश पु¥याउन पनि यो कार्यशालाको आवश्यकता ठानिएको हो ।” मन्त्री गुरुङले भन्नुभयो ।

पत्रकार सम्मेलनमा फाउन्डेसनकी प्रमुख एवं मदन पुरस्कार विजेता राधा पौडेलले महिनावारी महिलाहरुको नीजि सवाल नभई राजनीतिक र मानव अधिकारको सवाल भएकाले यस विषयमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । “अझैँ पनि महिनावारी भएकै कारण घरको भान्सादेखि मन्दिरमा समेत बन्देज लगाउने चलन छ । यस्तो कुरीति र अन्धविश्वास अन्त्य गर्न यस खालको अभियानलाई व्यापक बनाउनु पर्छ ।” उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार