मेलम्ची आयोजना तीन महिनादेखि ठप्प

काठमाडौ : मेलम्ची खानेपानी आयोजना अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (दोस्रो) को काम तीन महिनादेखि ठप्प छ । ठेकेदार कम्पनीले फोहोर प्रशोधन केन्द्र निर्माण, पाइप बिछ्याउने लगायतका काममा तीव्रता नदिए पछि ठप्प रहेको हो ।

सरकारले असारभित्र मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाए पनि पाइप बिछ्याउने, धारा जडान, फोहोर प्रशोधन केन्द्रको काममा भने अन्योलता छाएको छ । ‘सुरुङ र हेडवर्कस निर्माण काममा तीव्रता पाएको छ,’ खानेपानी मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यता काम ठप्प भएको छ, कम लागतमा टेन्डर गरेपछि ठेकेदारले काम गर्न सक्दैन भनेर बहाना निकाल्दै छ ।’ यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

६ वटै फोहोर प्रशोधन केन्द्रको ठेक्का भइसके पनि गुह्येश्वरीस्थित प्रशोधन केन्द्रको मात्र निर्माण सम्पन्न भइसकेको छ । गुह्येश्वरीमा ३ करोड २४ लाख लिटर क्षमता रहेको छ । तर, ललितपुरस्थित कोडकुमा निर्माण हुने प्रशोधन केन्द्रको प्रगति हुन सकेको छैन । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रशोधन केन्द्रको शिलान्यास गरेका थिए ।

३ महिनाअघि अनामनगर क्षेत्रमा गरिने भनेको धाराको परिक्षण हुन सकेको छैन । ‘पहिले पानी आउदैन भनेर चिन्ता थियो, अब पानी पाएपछि व्यवस्थापन कसरी गर्ने भन्नेमा चिन्ता छ’ ती अधिकारीले भने । आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख भोजविक्रम थापाले काम भइरहेको दाबी गरे । ‘काम भइरहेको छ, मिडियाले नकारात्मक कुरामात्र लेख्छ, मिडियाको काम नै नकारात्मक लेख्नेजस्तो छ,’ उनले भने ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार