बजारमै बग्छ गमगढीको ढल, बजारक्षेत्र दुर्गन्धित

मुगु : मुगुको सदरमुकाम गमगढी बजारमा ढलको प्रबन्ध नहुँदा खुला रुपमा ढल बग्ने गरेको छ । छायाँनाथ रारा नगरपालिकाको वडा नं. १ र २ मा पर्ने यो बजारमा ढल व्यवस्थित नहुँदा गमगढी बजार दुर्गन्धित बनेको छ। फोहोर पानी सोझै सडक र खुला क्षेत्रमा बग्दा मानिसहरु नाक थुनेर हिड्न विवश छन् । भिरालो सडकमा बग्ने फोहोर पानी सोझै स्थानीयको घरभित्र पस्ने गर्छ। ढल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी डाँफे द क्याराभान जेबि काठमाडौले समयमा ढल निर्माण नगर्दा बजारको ढल खुला वातावरणमा छरपष्ट भएको हो ।

जिल्ला प्रशासन कार्यालयदेखि चैना खोला र अदालत चोकदेखि अगाडिको ढल निकास दुई वर्षदेखि अलपत्र छ। दुईहजार एक सय मिटर ढल निर्माणका लागि भवन डिभिजन कार्यालय जुम्लासँग निर्माण कम्पनीले ०७५ पुसमै सम्झौता गरेको थियो। कम्पनीले दुई करोड १३ लाख ७० हजारमा ढल निकासको ठेक्का पाएको थियो। तर अहिलेसम्म काम सुरू भएको छैन। ढल निकास व्यवस्थित नहुँदा पुरै बजार दुर्गन्धित बनेको छ । सम्झौता भएकै समयमा ठेकेदार पक्षले १० प्रतिशत पेश्की समेत लिएको भवन डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चन्द्र खड्काले बताउनुभयो। पेश्की लिएको बर्षदिन भन्दा बढी समय भईसक्दा समेत ढल निर्माणको काम सुरु भएको छैन ।

गमगढी बजारको ढल निकासका लागि आर्थिक वर्ष ०७५/०७६ मा एक करोड ५० लाख रकम विनियोजन भएको थियो। भवन डिभिजन कार्यालयले ढल निर्माणमा चासो नदेखाएपछि सो बजेट नगरपालिकाले रकमान्तर गरेर खर्च गरेको छ। ढल व्यवस्थित नहुनु नगरपालिकाको कमजोरी रहेको स्थाानीय बासिन्दाले बताएपनि नगरप्रमुख हरिजङ्ग शाहीले भने बजेटको सदुपयोग गरेको दाबी गर्नु भएको छ । उहाँले भवन डिभिजन र ठेकेदारलाई तत्काल ढल निर्माणका लागि ताकेता गरिरहेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार