काठमाडौ : मेलम्ची खानेपानी आयोजनामा यस अघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी अझै टुंगो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुंगो लागे पनि सहायक ठेकेदारको विषयमा टुंगो लगाउन नसकेको हो । सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रमक सम्बन्धी माग दाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन भएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । उहाँले मजदुरलाई ज्याला वापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने जानकारी दिनुभयो।
“भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छ÷छैन भनी जाँच गर्ने (भेरिफाइ) काम भइरहेको छ”, उहाँले भन्नुभयो “त्यो सकिनासाथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।” सिएमसी कम्पनीले निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्ता (सप्लायर) लाई भुक्तानी गरेको थिएन । कम्पनी गएदेखि नै उनीहरूले आफू पीडित भएको भन्दै सरकारसँग भुक्तानीको माग गर्दै आएका छन् ।
कम्पनीले निर्माण कार्य छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यसअघिको समस्या भने समाधान गरिसकेको छैन । खानेपानी मन्त्रालयले यस अघि नै श्वेतपत्र जारी गर्दै आगामी असार मसान्तभित्र अस्थायी बाँध बनाएर भएपनि मेलम्चीको पानी काठमाडौ ल्याईसक्ने बताईसकेको छ ।