काठमाडौ : काठमाडौको ६ ठाउँमा अत्याधुनिक वाटर एटीएम राखिने भएको छ। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड सँगको सहकार्यमा काठमाडौ महानगरपालिकाको शहरी योजना आयोगले काठमाडौको शंखपार्क, स्वयम्भू भगवानपाउस्थित भुइँखेल, बालाजुपार्क, रत्नपार्क र मीनभवनस्थित ट्रलीबस भवन परिसर एवम् पुष्पलाल पार्कमा स्वचालित वाटर एटीएम जडान गर्न लागेको हो । यसअघि ललितपुर महानगरपालिका भवनको अघिल्तिर यस्तो एटिएम जडान गरिएको थियो ।

पार्क घुम्न आउने तीर्थालुलाई स्वच्छ पानी खुवाउने अभियान सहित ती स्थानमा वाटर एटीएम जडान गर्न लागेको काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सचिवालय प्रमुख इन्जिनियर रवीनमान श्रेष्ठले जानकारी दिनुभयो । यसका लागि बोर्डसँग सम्झौता भइसकेकाले अबको करिब एक महिनाभित्र ती सबै स्थानमा वाटर एटीएम जडान भइसक्ने उहाँले बताउनुभयो ।
२ सय मिलिलिटर कपमा प्रतिकप दुई रुपियाँ लिने व्यवस्था भएको एटीएममा रकम सटही गर्ने समेतको प्रविधि जडान गरिएको छ। दुई रुपियाँको क्वाइन नभएको अवस्थामा एटीएम मेसिनमा नोट छिराएपछि दुई रुपियाँ काटेर एटीएमबाट रकम फिर्ता लिने व्यवस्था गरिएको छ।
काठमाडौ महानगरपालिका र बोर्ड बीच भएको सम्झौतामा तीन वर्षसम्म मेसिन जडान गरी सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा बोर्डले लिएको छ। मेसिन जडानपछि सो विषयमा जानकारी दिन कामपाले एकजना फोकस व्यक्ति, स्थान, सुरक्षा, बिजुली र अन्य उपकरण उपलब्ध गराउनेछ । एटीएमबाट रकम अनुसार पानी लिन मिल्ने समेत व्यवस्था गरिएको छ।
बोर्डले मेसिनको लागत, जडान र तीन वर्षसम्मको व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ। सम्झौतापछि बोर्डले मेसिन जडान गर्ने तयारी गरेको हो।
बोर्डले चालु आर्थिक बर्ष उपत्यकामा करिब १५ वटा मेसिन जडान गर्ने योजना अनुसार ललितपुर महानगरपालिकाका एक र काठमाडौ महानगरपालिकाको ६ स्थानमा गरी सातवटा मेसिन जडान गर्ने योजना बनाएको छ।


1871 पटक हेरिएको 

