लिफ्ट खानेपानीले पनि हटेन खानेपानीको दुःख


बागलुङ : गाउँको नाम निसीखोला । नाम जस्तै हुने भए निसीखोलामा खोलै बग्नु पर्ने हो, तर निसीखोलाकै बासिन्दा खानेपानीको दुःख झेल्न बाध्य छन् । निसीखोलाका बासिन्दाको खानेपानी समस्या समाधान गर्न सञ्चालन गरिएको लिफ्ट खानेपानी आयोजनाबाट समेत समस्या हल नभएपछि उनीहरु निरास छन् । निसीखोला गाउँपालिका–२ अर्नाकोटमा केही बर्ष अघि युनिका फाउण्डेसनको सहयोगमा बाँसखोलाबाट ३ सय ३५ मिटर दुरीमा लिफ्ट प्रविधि मार्फत खानेपानी आयोजना निर्माण भएको थियो । उक्त आयोजनाबाट पर्याप्त पानी आउँदैन, आएपनि एक घरले एक गाग्री भन्दा बढी पानी भर्न पाउँदैनन् ।

स्थानीयले घन्टौ लगाएर ढोरपाटन नगरपालिका–५ को बसुन्धरा, बाँसखोला र बराहथानबाट पानी ल्याउनुपर्ने बाध्यता छ । पानी ओर्सान जाँदा आउँदा र पानी थाप्ने पालो कुर्दा धेरै समय लाग्ने भएकाले छोरा–छोरीलाई विद्यालय पढाउन ढिलो हुने स्थानीय डिलकुमारी बिकले बताउनुभयो । लिफ्ट प्रविधि बनेपनि घन्टौ लगाएर पानी ओसार्नुपर्ने बाध्यता रहेको स्थानीय हिराबहादुर बिकले बताउनुभयो । ‘बस्ती नजिक मुहान छैन बर्षौदेखि हाम्रो समस्या जस्ताको तस्तै छ।’ पानीको समस्याले अहिले सिंगो गाउँ नै आक्रान्त छ । अर्नाकोटका करिब ५ सय घरधुरीमा खानेपानीको समस्या छ ।

लामो समय श्रमदान गरेर अर्नाकोटमा पानी ल्याइए पनि जनसंख्या बृद्धिसँगै समस्या बढेको अर्का स्थानीय यमकुमारी बिकले बताउनुभयो । ‘पानीको अभावमा सबै भन्दा बढी समस्या र सास्ती हामी महिलाले भोगिरहेका छौ, पानी ल्याउन तल खोलाबाट गिट्टी बालुवा बोकियो, तर धारामा पानी आएन।’ पानीको अभाव भएपछि घरायसी कामकाज, नुहाउन, लुगा धुन र अन्य सरसफाइमा समस्या भएको छ ।’ उहाँले भन्नुभयो । खानेपानीको समस्याबारे स्थानीयले तीनवटै तहका सरकार र जनप्रतिनिधीलाई ध्यानाकर्षण गराए पनि सम्बोधन नभएको उनीहरुको गुनासो छ । पानीको संकट समाधान गर्न अर्नाकोटका अधिकांश घरले आकाशे पानी संकलन गर्ने सिमेन्टको घैंटो बनाएका छन् ।

नजिक मुहान नभएकाले खानेपानी समस्या समाधानको उपयुक्त विकल्प नभएको निसीखोला गाउँपालिका–२ का अध्यक्ष कुबिर बिश्वकर्माले बताउनुभयो । उहाँले हाँचे दह खानेपानी आयोजना मार्फत समस्या हल गर्न प्राविधिकले स्थगलत अध्ययन गरेर डिटेल सर्भेको काम सुरु भएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार