कोरोना संक्रमण विरुद्ध साबुन पानीले हात धुने अभियान


हरिवन, सर्लाही : विश्वव्यापी फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड १९) विरुद्ध सचेतना जगाउने उद्देश्यले बागमती सेवा समाज सर्लाहीले सचेतना अभियान सुरु गरेको छ । समाजले सर्लाही जिल्लाको हरिवन बजारबाट कोरोना संक्रमण विरुद्ध साबुन पानीले हात धुने अभियान सुरुवात गरिएको हो । अभियानको शुभारम्भ गर्दै हरिवन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज निरौलाले कोरोना भाइरस संक्रमणबाट नेपाल उच्च जोखिममा रहेकोले यसबाट बच्नको लागि सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

“विश्वका १ सय २२ भन्दा बढी मुलुकमा देखा परेको यो समस्या नेपालका लागि ठूलो चुनौतीको विषय बनेको छ” प्रमुख प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो “यसलाई नियन्त्रणका लागि राज्यको सामर्थ्यले मात्र भ्याउँदैन, त्यही भएर नागरिक समाज, संघसंस्था, सञ्चारकर्मी एवं सर्वसाधारण सबै मिलेर कोरोना भाइरस संक्रमण हुन नदिई यसको रोकथामका लागि एकजुट भएर लाग्नुपर्छ ।”

अभियान शुरुवातका क्रममा आयोजक बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले संक्रमण भइसकेपछि के गर्ने भन्दा पनि संक्रमण हुनै नदिनु महत्वपूर्ण कुरा भएको बताउँदै साबुन पानीले राम्रोसँग हात धुने, मास्कको प्रयोग गर्ने, भीडभाड भएको ठाउँमा सकभर नजाने जस्ता कुरा गर्न सके कोरोना भाइरस संक्रमणबाट धेरै हदसम्म जोगिन सक्ने बताउनुभयो ।


कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन नेपाल सरकारबाट भइरहेका प्रयासमा सहयोग गर्नका लागि संस्थाले आफ्नो कार्यक्षेत्र २ नम्वर प्रदेशका ८ वटा जिल्ला र १ नम्वर प्रदेशका २ वटा जिल्ला (सुनसरी र उदयपुर) गरी जम्मा १० वटा जिल्लामा सचेतना अभियान संचालन गर्ने अध्यक्ष कार्कीले जानकारी दिनुभयो । अभियानका क्रममा साबुन पानीले हात धुने अभ्यास गराउने, मास्क लगाउन प्रेरित गर्ने, जानकारीमुलक पर्चा पम्प्लेट वितरण गर्ने, स्थानीय तहसँग समन्वय गरी जानकारीमुलक सूचना बोर्ड स्थापना गर्ने आदि क्रियाकलाप सञ्चालन गरिने संस्थाले जनाएको छ ।

संस्थाले स्वास्थ्य, खानेपानी तथा सरसफाइ, शिक्षा, विपद् जोखिम न्युनिकरण, जीविकोपार्जन आदि क्षेत्रमा विभिन्न दातृ निकायसँग मिलेर कार्यक्रम सञ्चालन गर्दै आएको छ । वाग्मती सेवा समाजले सर्लाही जिल्लामा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कोरोना भाइरस विरुद्ध हेल्प डेस्क स्थापना गर्ने समाजका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिनुभयो । अभियान सञ्चालनका लागि संस्थाद्वारा एक अभियान सञ्चालन समिति समेत गठन गरेको बताउँदै बागमती सेवा समाज नेपालका व्यवस्थापन प्रमुख गजेन्द्र साहले संस्थाको कर्मचारी, तिनका परिवार र सर्वसाधारणलाई कोरोना भाइरस संक्रमणबाट जोगाउनका लागि “कोरोना भगाऔं, जीवन बचाऔं” भन्ने नाराका साथ कोरोना विरुद्धको सचेतना अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार