
काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड – १९) को सम्भावित संक्रमणबाट बच्न लकडाउनको समय बढाए पछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले भिडियो कन्फ्रेन्स मार्फत सबै शाखा प्रमुखहरुसँग छलफल गरेको छ ।
उपत्यकामा खानेपानीको वितरण सेवालाई प्रभावकारी बनाउन केयुकेएलले त्रिपुरेश्वर स्थित मुख्य कार्यालयबाट उपत्यकामा रहेका सबै शाखाका प्रमुखहरुसँग भिडियो मार्फत प्रत्यक्ष कुराकानी गरी खानेपानीको हालको वितरण अवस्थाको बारे जानकारी लिएको हो । केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले शाखाका सबै प्रमुखहरुसँग प्रत्यक्ष कुराकानी गरी आम उपभोक्ताका गुनासो र समस्याका बारे जानकारी लिनुभयो । सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दुरी कायम गर्नुपर्ने निर्देशन दिएकाले सोही अनुसार काठमाडौं उपत्यकामा खानेपानीको वितरण सेवा के कस्तो छ भनेर भिडियो कन्फ्रेन्स मार्फत छलफल गरेको प्रमुख शाक्यले बताउनुभयो ।
अहिले सुख्खा मौसम भएका कारण पानीको उत्पादन आधा घटेकाले हाल घरघरमा पानीको माग अत्यधिक भैरहेको छ । शाक्यले भन्नुभयो ‘यो अवस्थालाई ध्यानमा राखी पालो मिलाइ पानी उपलब्ध गराउन कर्मचारीहरु खटाउने र सबैलाई पुग्ने गरी वितरण गर्ने भन्ने सम्बन्धमा छलफल गरेका छौं ।’ खानेपानी वितरण सम्बन्धी जानकारी लिनको लागि सम्बन्धित कर्मचारीको नाम र फोन नम्बर हामीले आफ्नो फेसबुक पेज र हाम्रो वेभ साइट www.kathmanduwater.org मा राखेका छौ, शाक्यले जानकारी भन्नुभयो ।’
कतै खानेपानी चुहावट देखिएमा र कुनै गुनासो पठाउनको लागि गुगल प्ले स्टोरमा र मोबाइल एप kukl डाउनलोड गरी जानकारी पठाउन समेत उहाले सबैलाइ आग्रह गर्नुभयो ।
स्वास्थ्य मन्त्रालय समक्ष सुरक्षा सामग्री माग
त्यस्तै कोभिड – १९ भाइरसको जोखिमबाट सुरक्षित रहन केयुकेएलमा काम गर्ने ट्याङ्कर चालक, पानी खोल्ने बन्द गर्ने चाबी चालक र अन्य फिल्डमा खटिने कर्मचारीहरुलाई सुरक्षाको लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा पत्र पठाइएको छ । लकडाउनको बेलामा पनि काम गर्ने कर्मचारी हरुलाई निशुल्क बीमा एवम् क्षतिपूर्ति दिनका लागि केयुकेएलले खानेपानी मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयमा पत्र पठाएको शाक्यले जानकारी दिनुभयो ।
लकडाउनको समयमा आफ्ना कर्मचारीहरु मार्फत खानेपानी वितरण सेवालाई निरन्तरता दिइरहेको केयुकेएलले जनाएको छ ।
अहिले सुख्खा समय भएकाले खानेपानीको माग धेरै रहेको र जे जस्तो भएपनि सेवा दिइरहेको शाक्यको भनाइ छ । ‘हाम्रो खानेपानी वितरण सेवामा कुनै समस्या आइहाले हामी जुनसुकै बेलामा पनि काम गर्न तयारी अवस्थामा छौं’ उहाँले भन्नुभयो ।


3092 पटक हेरिएको 

