
ताराबाबु खाती, बाजुरा : सधैंजसो खेतीपाती, वस्तुभाउ र घरायसी काममै व्यस्त रहने बढीमालिका – ४ मष्टामाण्डुका बीरेन्द्र बहादुर सिं अहिले फुर्सदिला हुनुहुन्छ । सरसफाइलाई फुर्सदको समयमा मात्र गरौंला भन्दै अरु कामलाई नै प्राथमिकता दिदै आउनुभएका सिं जस्ता धेरैलाई यो समय घरको सरसफाइमा ध्यान दिने उपयुक्त अवसर बनेको छ । बीरेन्द्र बहादुर सिं भन्नुहुन्छ ‘अघिपछि सरसफाइको काम मात्र गरेर बस्न मनले दिदैन, गाउँघरमा काम नगरी मुख जोर्न मुश्किल नै हुन्छ, अहिले त सरकारले नै बाहिरका मानिसहरुसँग हेलमेल नगर्नु, घर बाहिरको काममा नजानु भनेपछि घरभित्र र वरपरको सरसफाइमा ध्यान दिन पाएको छु ।’
संयुक्त शौचालय हुनेले छुट्टै शौचालय निर्माण गर्ने, वस्तुभाउको मललाई व्यवस्थापन गर्ने, जुठेल्ना निर्माण गर्ने लगायत काम भईरहेका छन् ।
सिं ले भनेजस्तै गाउँघरमा सरसफाइको कामलाई दोस्रो प्राथमिकतामा राखिन्छ । समय निकालुँला र सरसफाइ गरौंला भन्दा भन्दै त्यो समय कहिल्यै प्राप्त हुँदैन । घाँस दाउरा, खेतीपाती, वस्तुभाउको स्याहार गर्दैमा दिन बित्छ । तर हिजोआज कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रासका कारण गाउँभरिका मानिस आ–आफ्नै घरमा बसेका छन् । यो समयलाई कसरी उपयोग गर्ने त ? उनीहरुले राम्रो उपाय निकालेका छन् ।

फुर्सदको समयलाई कतिले नुहाई धुँवाई गर्ने, कपाल कोर्ने, नियमित साबुन पानीले हात धुने जस्ता व्यक्तिगत सरसफाइमा उपयोग गरिरहेका छन् । साबुन नभए पनि कतिले खरानी पानीले भाँडा माझेर टल्काएका छन् । कतिले भत्किन लागेको शौचालयको सुधार गर्न थालेका छन् भने कतिले भाँडा माझ्ने ठाउँ, पानीको निकास र हात धुने ठाउँको व्यवस्था गरेका छन् । खाली समयमा गरेको कामले उनीहरुलाई सिर्जनात्मक मात्र बनाएको छैन, सरसफाइ सम्बन्धी क्रियाकलाप पूर्ण सरसफाइ उन्मुख समुदाय निर्माणका लागि समेत सहायक सिद्ध बनेको छ । बाजुराको बढीमालिका – १ बयकटिया टोलका जोगी भण्डारी भन्नुहुन्छ ‘यसपाली चाहिं हामीले सरसफाइमा ध्यान दिने राम्रो मौका पायौं, आखिर कोरोना जस्तो रोगलाई पनि सरसफाइले भगाउने रहेछ, हामीले हात धुने छुट्टै ठाउँ बनाएका छौं, अब नियमित रुपमा हात धुन्छौं ।
GSF/UN-HABITAT को सहयोगमा बाजुरा जिल्लाको बढीमालिका र बूढीगंगा नगरपालिकाले सवै वडामा पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण देश लकडाउन हुँदा घरदैलो कार्यक्रम, तालिम गोष्ठी जस्ता सामूहिक कार्यक्रमहरु सञ्चालनमा असर परे पनि पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरुको व्यवहारिक अभ्यासमा भने अहिले तीब्रता आएको छ । समुदायका मानिसहरुले अहिले नियमित साबुन पानीले हात धुने, सरसफाइ गर्ने, पालिका तथा वडाको सम्पर्कमा रही जनचेतना तथा सरसफाइ सामग्री वितरण गर्ने लगायत काम गरिरहेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणवाट बच्ने विभिन्न उपाय मध्ये साबुन पानीले हात धुने प्रमुख उपाय हो भनेर सरसफाइ सहजकर्ताहरुले सन्देश पुर्याएपछि साबुन पानीले हात धुने कामलाई प्राथमिकता दिन थालेका हुन् । विगतमा पनि साबुन पानीले हात धुने बिषयलाई प्रमुखता साथ उठाएपनि समुदायका मानिसले खासै वास्ता गर्दैनथे । तर यसपटक विश्व स्वास्थ्य संगठनले समेत कोरोना महामारीबाट बच्ने सुरक्षात्मक उपाय भनेको साबुन पानीले नियमित हात धुनु हो भनेर जोड दिए पछि स्थानीय समुदायमा हात धुने बानीको विकास गर्न थप सहज भएको हो ।
वढीमालिका नगरपालिकाका मेयर पदम वडुवालका अनुसार सुरक्षाकर्मीको सहयोग, प्रचार–प्रसारमा सिमित व्यक्तिको उपस्थिती तथा निश्चित दुरी कायम गरी यत्तिबेला हात धुने स्थान निर्माण तथा अभ्यासका साथै संयुक्त शौचालय हुनेले छुट्टै शौचालय निर्माण गर्ने, वस्तुभाउको मललाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्ने, सुरक्षित पानीको प्रयोग गर्ने, पानीको स्रोतलाई सुरक्षित बनाउने तथा जुठेल्ना निर्माण गर्ने लगायत काम भईरहेका छन् ।
मेयर वडुवाल भन्नुहुन्छ ‘शौचालय प्रयोग पछि, विषादी छोएपछि, खेतबारी तथा वस्तुभाउको मल छोएपछि साबुन पानीले हात धुनुपर्ने कुराहरु कर्मचारीले घरैमा वसेर पनि फोन मार्फत बताईरहनुभएको छ ।’
बुढीगंगा नगरपालिकाले भने सार्वजनिक स्थान, अस्पताल, अफिसहरुमा हात धुने स्थानको अनिवार्य निर्माण गर्न लगाउने भएको छ । सरसफाइकै कमीका कारण धेरै प्रकारका सरुवा रोगहरुको सिकार हुनु परेकाले यस्तो अवस्थावाट वच्न जस्तोसुकै अवस्थामा पनि छुट्टै हात धुने स्थान हुनुपर्ने बताउनुहुन्छ मेयर दिपक शाह ।

GSF/UN-HABITAT को सहयोगमा बढीमालिका नगरपालिकाद्वारा सञ्चालित पूर्ण सरसफाइ कार्यक्रमलाई वडा कार्यालयले समेत अपनत्व ग्रहण गरी कार्यान्वयनमा जोड दिईरहेको छ । वढीमालिका नगरपालिकाको ५ नं. वडाका अध्यक्ष बल बहादुर थापा दिगो सरसफाइका लागि हात धुने स्थानको निर्माण, जुठेल्ना, भाँडा सुकाउने चाङ र घरभित्र र वरपरको सरसफाइमा ध्यान केन्द्रित गर्न लगाईरहेको बताउनुहुन्छ ।

स्टोरी लेखक ग्लोबल स्यानिटेशन फण्ड यूएन ह्याबिट्याटका बाजुरा जिल्ला संयोजक हुनुहुन्छ ।


3712 पटक हेरिएको 

