
काठमाडौ : प्राकृतिक तथा मानवजन्य कारणहरुले जलवायु परिवर्तन हुँदै जाँदा पानीका विद्यमान स्रोतहरु सुक्दै गएको छ । खानेपानीका मुहानहरु सुकेपछि ग्रामीण तथा सहरी क्षेत्रको जनजीवन कठिन बन्दै गएको छ । पानीको जोहो गर्न नसकेर कतिपय वस्तीहरु बसाईसराई गर्ने अवस्थामा पुगेका छन् । यस्ता बस्तीहरुमा खानेपानी तथा सरसफाइ सुविधा पुर्याउनका लागि सरकारले जलवायु अनुकुलित वृहत खानेपानी आयोजना सञ्चालन गरिरहेको छ ।
यस आयोजना अन्तर्गत देशका विभिन्न ठाउँमा खानेपानी तथा सरसफाइ आयोजनाहरु सञ्चालन गरिरहेको छ । जलवायु अनुकुलित आयोजना अन्तर्गत साविकका सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना, जलाशाययुक्त तथा थोक वितरण प्रणालीगत खानेपानी आयोजनाहरु रहेका छन् ।
आयोजना अन्तर्गत पर्नेे मापदण्ड
– नेपाल सरकारले घोषणा गरेका सुख्खा क्षेत्रमा पर्ने संघिय स्तरका खानेपानी आयोजनाहरु ।
– जलासययुक्त वृहत खानेपानी आयोजनाहरु ।
– थोक वितरण प्रणालीयुक्त खानेपानी आयोजनाहरु ।
– १५ किलोमिटर भन्दा बढी प्रसारण पाईप लाईन भएको सतही श्रोत र २५ लिटर प्रति सेकेण्ड भन्दा बढी पानी आपूर्ति गर्ने खालका आयोजनाहरु ।
– ५०० मिटर भन्दा बढी उचाईका स्थानमा मल्टिस्टेज पम्पिङ गरी पानी आपूर्ति गर्ने संघीय आयोजनाहरु ।
– १० प्रतिशत जनसहभागितामा निर्माणाधीन साविकका सुख्खाक्षेत्र खानेपानी आयोजनाहरु ।
– नेपालको औषत (१२० मि.मी. प्रति वर्ष) भन्दा निकै कम मात्र वर्षा तथा हिमपात हुने स्थानमा सञ्चालन हुने संघीय आयोजनाहरु ।
– भूमिगत पानीको सतह निकै तल (५० मिटर भन्दा वढी) भएको र स्यालो ट्यूववेलको सम्भावना नभएका तराई (मधेस क्षेत्रका सुख्खा वस्तीहरुको लागि सञ्चालन गरिने खानेपानी आयोजनाहरु ।
आयोजनाको लागत व्यहोर्ने श्रोत
– कुल लागतको ९० प्रतिशत नेपाल सरकार
– कुल लागतको १० प्रतिशत जनसहभागिता (१ प्रतिशत अग्रिम नगद र ९ प्रतिशत जनश्रमदान, संरचनाहरु निर्माणका लागि जग्गा व्यवस्थापन, खन्नेपुर्ने, धारा जडान आदि )
स्रोत : खानेपानी तथा ढल व्यवस्थापन विभाग


1376 पटक हेरिएको 

