जन्मदिन मनाउन छुट्याएको रकम सरसफाइ कोषमा

काठमाडौं : उनको जन्म दिन आज (सोमबार) हो भन्ने कुरा कक्षाका सबै सहपाठीलाई थाहा थिएन, जत्तिलाई थाहा थियो आज पक्कै लक्ष्मीको हातबाट चक्लेट खान पाइन्छ भन्ने थियो । तर लक्ष्मीले न सहपाठी माझ मात्र जन्म दिन मनाइन् न त चक्लेट नै बाँडिन् बरु जन्मदिनलाई फरक शैलीले मनाएर स्याबासीको पात्र भइन् ।

काठमाडौको किर्तिपुर स्थित जनसेवा उच्च मावि पागामा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् लक्ष्मी पौडेल । उनको आज जन्म दिन थियो । लक्ष्मीलाई विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक शिक्षिका सबैले बिहान प्रार्थना भइरहेकै बेला लाइनबाटै जन्मदिनको शुभकामना दिए । लक्ष्मीले भने जन्मदिन मनाउन छुट्याएको ५ सय ५ रुपैयाँ विद्यालयको सरसफाइ कोषमा जम्मा गरिन् ।

जन्मदिनका लागि छुट्याएको रकम विद्यालयका शिक्षिकालाई हस्तान्तरण गर्दै लक्ष्मी

फोटो : विश्व स्वास्थ्य संगठनका नेशनल प्रोफेसनल अफिसर डा. सुदनराज पन्थीको सहयोगमा ।

चक्लेट किनेर वितरण गर्दा एकैछिन गुलियो भए पनि कतिपय छात्रछात्राले चक्लेटको खोल जथाभावी फ्याँक्दा वातावरण प्रदुषण हुने र सरसफाइ कोषमा जम्मा गरे त्यो रकम आफू र अरु साथीहरुलाई पनि काम लाग्ने भएकाले सरसफाइ कोषमा रकम जम्मा गरेको लक्ष्मीले बताइन् । ‘आज मैले जम्मा गरें, भोलि अरु साथीको पनि जन्मदिन हुन्छ, फेरि अर्को साथीले पनि जम्मा गर्नुहुन्छ, यो रकमबाट सरसफाइ सामग्रीहरु किन्न काम लाग्छ त्यसैले मैले यो कामको शुरुवात गरेकी हुँ’ लक्ष्मीले भनिन् ।

जन्म दिनको अवसरमा चक्लेट किनेर बाँड्ने सामान्यतय चलन जस्तै भइसकेको बेला  जन्मदिनका लागि छुट्याएको रकम सरसफाइ कोषमा जम्मा गरेपछि लक्ष्मीलाई सहपाठी, स्कुलका अन्य साथीहरु र शिक्षकशिक्षिकाले समेत स्याबासी दिएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार