चितवन : चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा दिसापिसाब गर्न जाँदा बन्यजन्तुको आक्रमणबाट ६ जनाको ज्यान गएको छ । गत आर्थिक बर्षमा बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका १४ जना मध्ये ६ जना दिसापिसाब गर्न जाँदा मारिएका छन् ।
गैंडा, हात्ती, बाघ, बदेल, गोही लगायत जनावरको आक्रमणबाट ३० जना घाईते भएका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
सहायक संरक्षण अधिकृत अर्यालका अनुसार गत आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा बढी गैंडाको आक्रमणबाट ७ जना, हात्तीको आक्रमणबाट ५ जना र बाघको आक्रमण बाट दुई जना मारिएका छन् । अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा वन्यजन्तुको आक्रमणबाट पाँच जनाले मात्र ज्यान गुमाएका थिए ।
‘मध्यवर्ती क्षेत्रमा घाँस काट्न जाँदा दिसापिसाब गरिरहेका बेला, दिसापिसाब गर्न घर बाहिर निस्केका बेला र खेतबारीमा काम गर्न गएका बेला पनि आक्रमणमा परेको देखिन्छ’ सहायक संरक्षण अधिकृत अर्यालले भन्नुभयो ।
उहाँका अनुसार कतिपय वन्यजन्तु आँखामा प्रकाश पर्दा एकोहोरो हेरिरहने खालको भएपनि कति चाहिं झम्टिने खालका हुन्छन् । गाउँघरमा चर्पी नहुँदा रातीको समयमा खोलाखोल्सीमा जानुपर्ने र भएकाको पनि घरभन्दा अलि परतिर हुने भएकाले पनि जंगली जनावरको आक्रमणमा पर्ने गरेका छन् ।
वन्यजन्तुले गत आर्थिक वर्षमा ९४ परिवारको घरपालुवा जनावर मारेको र ३२० परिवारको अन्नबाली नष्ट गरेको निकुञ्जले जनाएको छ । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएकालाई पाँच लाख रुपैयाँ र घाईते भएकालाई एक लाख रुपैयाँसम्म उपचार खर्च दिने व्यवस्था रहँदै आएकोमा अहिले दुवै क्षतिपूर्ति रकमलाई सरकारले दोब्बर बनाईएको छ ।