सिरहाको दुरबीनडाँडा प्रदेश २ कै पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय

सिरहा : सिरहा जिल्लाको धनगढीमाई नगरपालिका स्थित वडा नंं. १३ दुरवीनडाँडालाई प्रदेश २ कै पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । दुरबीनडाँडा खानेपानी तथा सरसफाइ आयोजना मार्फत सबै घरपरिवारमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चितता भएपछि दुरबीनडाँडालाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष इन्द्रमान तामाङको अध्यक्षतामा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालको प्रमुख आतिथ्य एवं वन तथा वातावरण राज्यमन्त्री.सुरेश कुमार मण्डल, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी, उपप्रमुख फूलकुमारी श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राम आधार शाह र धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई लगायतको उपस्थितिमा खानेपानी उपभोक्ता समितिले गाग्रीमा ल्याएको पानी गिलासबाट सीधै पिएर सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।


दुरबीन डाँडा खानेपानी तथा सरसफाइ आयोजनाको सेवा क्षेत्रलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुअघि खानेपानी सुरक्षा योजना कार्यान्वयन गरिएको थियो । यस अन्तर्गत खानेपानी गुणस्तर मापन तथा तिनको प्रभावकारिताको मुल्याङ्कन, समितिद्वारा स्वःघोषणा, स्वतन्त्र अनुगमन टोलीबाट समुदायको अनुगमन तथा अनुगमन टोलीद्वारा सुरक्षित खानेपानीयुक्त समुदायको प्रमाणीकरण गरिएको युनिसेफ क्षेत्रीय कार्यालय जनकपुरका खानेपानी तथा सरसफाइ अधिकृत बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो । धनगढीमाई नगरपालिकाले कम्तीमा तीन महिना भित्र चार वटा समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने नगरप्रमुख हरिनारायण चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रदेश २ को सबै पालिकामा वास प्लान बनाईनेछ : मन्त्री सोनाल

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले पूर्ण सरसफाइ अभियानलाई अगाडि बढाउन १३६ वटै पालिकाहरुमा वास प्लान बनाउने कार्यमा मन्त्रालय सहकार्य गर्न तयार रहेको बताउनुभयो । घोषणा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मन्त्री सोनालले खुला दिसामुक्त पछाडि पूर्ण सरसफाइमा जानका लागि खानेपानीको गुणस्तर सुनिश्चित गर्नुपर्ने आवश्यक रहेको र त्यसमा युनिसेफले खानेपानी गुणस्तरयुक्त समुदाय बनाउने अभियानको थालनी गरेकोमा धन्यबाद व्यक्त गर्नुभयो ।

वहाँले चुरे विनास भईरहेको प्रति चिन्ता व्यक्त गर्दै खानेपानी तथा विपदको हिसाबले चुरे संरक्षण अति आवश्यक रहेको बताउनुभयो । चुरेको विनास भएमा मानव जीवनमै ठूलो संकट पर्ने भएकाले यसको संरक्षणका लागि सरकारी एवं जनसमुदाय नै जाग्नुपर्ने बताउनुभयो । सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रममा मन्त्री सोनालले धनगढीमाई नगरपालिकाको पाँच बर्षे वास प्लानको पनि विमोचन गर्नुभयो ।

यस्तै कार्यक्रमको विशेष अतिथि समेत रहेका बन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले प्रदेश २ का हरेक व्यक्तिले जन्म दिनको अवसरमा एक व्यक्ति बराबर एक रुख मात्र रोप्ने हो भने बर्षेणी ६० लाख विरुवा रोपिने बताउनुभयो । उहाँले जनसंख्याको आधारमा तराईका बासिन्दाका लागि स्वच्छ सास फेर्न ४५ प्रतिशत भूमि जंगलले ढाकिएको हुनुपर्ने भएपनि हाल २५ प्रतिशत क्षेत्रमा मात्र जंगल रहेको बताउनुभयो ।


प्रदेश २ मा युनिसेफको योजना

युनिसेफले सम्बन्धित स्थानीय तहहरुसँगको सहकार्यमा प्रदेश २ को २५ हजार जनसंख्याका लागि सुरक्षित खानेपानी उपलब्ध गराउने भएको छ । यस्तै ४६ वटा पालिकाहरुको वास प्लान बनाउन सहयोग गर्ने, १०० वटा स्कुल तथा २० वटा स्वास्थ्य चौकीका लागि सुरक्षित खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउने र विपद व्यवस्थापनमा आवश्यकता अनुसार सहयोग गर्ने योजना रहेको युनिसेफ क्षेत्रीय कार्यालय जनकपुरका खानेपानी तथा सरसफाइ अधिकृत बोधनारायण श्रेष्ठले बताउनुभयो ।

एक अध्ययन अनुसार प्रदेश २ का ३ प्रतिशत जनसंख्याको अझै खानेपानीमा पहुँच पुगेको छैन । यस्तै ९० प्रतिशत घरधुरीको पानीमा कोलिफर्म रहेको र ७१ प्रतिशत स्रोतको पानीमा इकोली भेटिएको छ । प्रदेश २ मा सुरक्षित खानेपानीको स्थिति विकराल रहेपनि सिरहाको धनगढीमाई नगरपालिकाको दुरबीनडाँडालाई भने सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न सफल भएको अधिकृत श्रेष्ठले बताउनुभयो ।

सोही अवसरमा दुरबीनडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लागि युनिसेफले पानी परिक्षण गर्ने किट हस्तान्तरण गरिएको छ । समितिले सोही किटको माध्यमबाट खानेपानीको गुणस्तर जाँच गरी सुरक्षित खानेपानी मात्र वितरण गर्नेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार